विद्युतीय दुई पांग्रेमा बढ्दो आकर्षणः ब्याट्री रिप्लेस गर्ने खर्चले किन्ने कि नकिन्ने दोधारमा सर्वसाधारण



काठमाडौं । धुम्बबाराही बस्ने शम्भु गुरुङ शनिबार दिउँसो भृकुटीमण्डपमा भेटिए । भुकुटीमण्डपमा जारी रहेको ‘नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी’मा पुगेका उनको विशेष आकर्षण विद्युतीय दुई पांग्रेमा थियो ।

‘अहिले पेट्रोलवाला स्कुटर चलाइरहेको छु,’ जिरो एमिसन राइड एनको स्टलमा भेटिएका गुरुङले क्लिकमान्डुसँग भने, ‘इलेक्ट्रिक स्कुटरको प्रयोग गर्दा कस्तो हुन्छ भनेर यहाँ बुझ्न आएको थिएँ । फिचरहरु ठीकै लाग्यो ।’

शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनी आइतबारसम्म चलिरहेको छ । प्रदर्शनीमा विभिन्न देशबाट विद्युतीय सरसामानलगायतका वस्तुहरुलाई राखिएको छ । बुक गर्ने, खरिद गर्ने तथा जानकारीका लागि मात्रै पनि सर्वसाधारण त्यहाँ पुगेका देखिन्छन् ।

अन्य सामाग्रहरुमा पनि ग्राहकहरुको विशेष उपस्थिति भने विद्युतीय दुई पांग्रेतर्फ देखिएको छ । शनिबार दिउँसो उक्त प्रदर्शनीमा रहेका विद्युतीय स्कुटर तथा बाइकहरुको स्टलमा धेरैले जानकारी लिने तथा बुक गर्ने गरिरहेका थिए ।

गुरुङले आफूलाई विद्युतीय स्कुटर मन परेको बताए । सञ्चालन गरिरहँदाको खर्च निकै कम हुने भएकाले पनि आफू त्यसतर्फ आकर्षित भएको उनी बताउँछन्। तर, सञ्चालन गरिरहँदा केही वर्षपछि ब्याट्री फेर्नुपर्दा भने एकमुष्टरुपमा खर्च धेरै आउने भएकाले परिवर्तन गर्ने वा नगर्ने उनले सुनाए ।

‘स्कुटर चलाउन पनि सजिलै हो,’ लुयान नामक चाइनिज कम्पनीको स्कुटरको परिक्षण गरेपछि उनले भने, ‘किन्दा पनि मूल्य धेरै नपर्ने रहेछ । चार्ज घरमै गरेर चलाउन पनि सकिने भयो । तर, पछि ब्याट्री फेर्दा खर्च धेरै आउने भएकाले अहिले चेन्ज गर्ने कि नगर्ने भन्ने निर्णय चाहिँ गरेको छैन ।’

चिनियाँ विद्युतीय स्कुटर निर्माता कम्पनी लुयानको स्कुटर तथा अन्य दुई पांग्रेको नेपालमा आधिकारिक बिक्री बितरण गरिरहेको कम्पनी जिरो एमिसन राइड एनको बिक्री (सेल्स) विभागमा रहेका मानबहादुर चौधरीका अनुसार गुरुङजस्ता थुप्रैको आकर्षण विद्युतीय दुई पांग्रेतर्फ देखिएको बताउँछन् । धेरैले खरिद गर्दा पर्ने मूल्य सस्तो हुनु र सञ्चालनको खर्च पनि कम हुनुले त्यसतर्फ आकर्षित भइरहेको उनले बताए ।

‘यहाँ धेरै जना स्कुटरहरुको बारेमा जानकारी लिन आउनु भएको छ,’ उनले भने, ‘धेरैलाई ईलेक्ट्रिक स्टुकर किनेपछि त्यसमा पेट्रोलमा हुने खर्च कटौती हुने भएकाले पनि आकर्षण बढेको देखिएको छ । दुई दिनमा हामीले लगभग सय जनाभन्दा धेरैलाई कन्सल्ट गरेका छौं । केही संख्यामा बुक पनि भएको छ ।’
प्रदर्शनीमा आउनेहरुले बढी ईलेक्ट्रिक स्कुटर तथा बाइकको बारेमा जानकारी नै लिइरहेको उनले सुनाए । तर, बुकिङको पाटोमा भने केही कम उत्साह देखिएको पनि उनी बताउँछन् ।

उनले भने, ‘धेरैलाई ब्याट्री रिप्लेस गर्दा आउने कस्टको कारण अहिले नै किन्ने कि नकिन्ने भन्नेमा निर्णय गर्न नसकेको पाएका छौं। तर, विद्युतीय स्कुटर र बाइकमा मान्छेको उत्साह भने निकै राम्रो देखिएको छ ।’

विद्युतीय स्कुटर तथा बाइकमा बढ्दो आकर्षण

हर्विन तथा इकुटर नामक अन्तराष्ट्रिय कम्पनीका विद्युतीय बाइक तथा स्कुटरको नेपालमा बिक्री गर्ने पायोनियर वल्र्डवाइडका सेल्स एक्जुकेटिभ अनुपमा महतार प्रदर्शनीमा देखिएको उत्साहले नेपाली बजारमा विद्युतीय स्कुटर तथा बाइकतर्फको आकर्षण वृद्धि भएको देखाएको बताइन् ।

‘नेपालमा इभीमा गाडीहरुको बिक्री तीव्र भएपनि दुई पांग्रेमा त्यो देखिएको छैन’, उनले भनिन्, ‘तर, यहाँ अहिले हामीसँग बुझ्न आउने मान्छेहरुले दुई पांग्रेमा पनि राम्रो माइलेज दिने र छिटो चार्ज हुने किसिमको भएमा आफू सिफ्ट हुन चाहिरहेको बताउनु भएको छ ।’

उनी नेपाली बजारमा पनि विद्युतीय स्कुटर तथा बाइकको बिक्री विस्तारै बढ्ने र पेट्रोलियम बाइक तथा स्कुटरको प्रयोगमा कम आउँछ भन्ने देखिएको बताउँछिन् ।

उनले भनिन्, ‘हामीले ल्याउने इलेक्ट्रिक बाइक र स्कुटरमा अझै केही फिचरहरु बढ्दै आएका छन् । मान्छेले खोजेका फिचरहरु हुने हो भने विस्तारै सिफ्ट हुने देखेको छु । धेरैले आफूले खोजेको कुराहरु अहिले इलेक्ट्रिक स्कुटर र बाइकमा भेटिएको बताउनुहुन्छ ।’

त्यस्तै, लिफान नामक चिनियाँ कम्पनीका विद्युतीय स्कुटरहरुको नेपालमा बिक्री गरिरहेको पिनाकल मोटरर्याड प्रालिका सेल्स म्यानेजर रुपक भट्टराई धेरैलाई विद्युतीय स्करटर तथा बाइकमा रुचि भएको पाइएको बताउँछन् ।

‘यहाँ धेरैले स्कुटर र बाइकमा रुचि राख्नु भएको छ,’ उनले भने, ‘धेरैलाई ईलेक्ट्रिक स्टुकर र बाइक चलाउँदा सहुलियत हुने भएकाले यसतर्फ ध्यान गएको पाएका छौं।’

चितवनमा केन्द्रिय कार्यालय रहेको पिनाकलको स्टलमा भेटिएका सुदन मानन्धर आफूलाई उपत्यका वरपर चल्नका लागि विद्युतीय स्कुटर आवश्यक भएकाले बुझ्न आएको बताए ।

उनले भने, ‘म अहिले डियो चलाइरहेको छु । तर, काठमाडौं वरपर मात्रै काम पर्ने भएकाले इलेक्ट्रिकमा सिफ्ट हुनका लागि के कस्ता स्कुटर र बाइक छन् भनेर यहाँ बुझ्न आएको छु ।’

उनी आफूलाई सहज हुने किसिमको माइलेज र रेन्ज दिने विद्युतीय स्कुटर र बाइकहरु पनि पाएको बताउँछन् । उनी भन्छन्, ‘बुक त गरेको छैन । तर, अब कस्तो लिनुपर्छ भन्ने एउटा आइडिया चाहिँ भएको छ । खर्च कम हुने भएकाले विद्युतीय तिर नै जानुपर्छ भन्ने लागेको छ ।’

पिनाकलका सेल्स म्यानेजर भट्टराईकाअनुसार धेरैको चिन्ता ब्याट्रीको आयु सकिएपछि त्यसको व्यवस्थापन र नयाँ ब्याट्री राख्दा हुने खर्चमा रहेको छ ।

‘हाम्रोमा भएका स्कुटरहरुको ब्याट्रीमा २ वर्षको वारेन्टी छ,’ भट्टराईले भने, ‘मजाले तीन–चार वर्षसम्म चल्छ । त्यसपछि हुने खर्चमा धेरैले चिन्ता देखाउनु भएको छ । तर, पेट्रोलमा हुने खर्च, अरु मेन्टेनेन्समा हुने खर्चलाई हेर्ने हो भने यो खर्च केही पनि होइन । नेपालीले एकै पटक धेरै पैसा खर्च गर्नुपर्छ भनेर पेट्रोलमा पटक पटक हुने खर्चलाई तुलना नै नगरेको हो कि भन्ने पाएका छौं ।’

प्रायः चिनियाँ कम्पनीका विद्युतीय स्कुटर, कस्तोको मूल्य कति ?

आईतबारसम्म चल्ने प्रदर्शनीमा प्रायः चिनियाँ कम्पनीहरुका विद्युतीय स्कुटर तथा बाइकहरु रहेका छन् । स्पोर्टी लुक्सदेखि प्रयोगकर्तालाई सहज हुने गरि एरोडायनामिक्सलाई ख्याल गरेर बनाइएका स्कुटर तथा बाइकहरु प्रदर्शनीमा राखिएका छन् ।

कम्पनी जिरो एमिसन राइड एनको बिक्री (सेल्स) विभागमा रहेका चौधरी काअनुसार प्रदर्शनीमा राखिएका ईलेक्ट्रिक स्कुटरहरुमा १ लाख ८७ हजारदेखि ३ लाख ५१ हजारसम्मका स्कुटरहरु छन् । ग्रेफाइन, लिथियम आयन, लिथियम पोस्फेटजस्ता विभिन्न किसिमका ब्याट्री र तीनिहरुको क्षमताका आधारमा फरक फरक मूल्यमा स्कुटरहरु छन् । चौधरीकाअनुसार ‘एमएनके थ्री’ तीन फरक मूल्यमा रहेको छ । ग्रेफाइन टि वान ब्याट्रीसहितको मूल्य १ लाख ८७ हजार, ग्रेफाइन टि टु ब्याट्री सहितको मूल्य २ लाख ७९ हजार र लिथिमय आयन ब्याट्रीसहितको मूल्य २ लाख ५० हजार रहेको छ । यो भर्जनका स्कुटरले ७५ देखि १४० किमिसम्मको माइलेज पूर्ण रुपमा चार्ज हुँदा दिने र बढिमा ६ घण्टामा पूर्ण रुपमा चार्ज हुने चौधरीले बताए ।

त्यस्तै, सोही कम्पनीको सर्वाधिक मूल्यमा भने ३ लाख ५१ हजार रुपैयाँमा लिथियम फोस्फेट ब्याट्री सहितको एस थर्टी स्कुटर रहेको छ । यसले भने १५० किमिसम्मको रेन्ज दिने र पूर्णरुपमा चार्ज हुन ६ देखि ८ घण्टा लाग्ने चौधरीले बताए ।

त्यस्ते, प्रदर्शनीमा चिनियाँ कम्पनी लिफानका ४ किसिमका स्कुटरहरु राखिएका छन् । ई थ्रि मोडलको एउटा ब्याट्री सकितको स्कुटरको मूल्य २ लाख ४९ हजार रहेको स्कुटर नेपालमा बिक्री गर्ने पिनाकल मोटरर्याड कम्पनीका सेल्फ म्यानेजर भट्टराईले बताए । त्यस्तै, दुई ब्याट्रीसहितको सोही मोडलको मूल्य ३ लाख ३४ हजार रहेको छ ।

त्यस्तै, ई–फोर मोडलको स्कुटरको मूल्य ३ लाख १४ हजार रहेको छ । डेलिभरिलगायतका कामका लागि मोडिफाइड गरिएको ईफोर ब्रिंगको मूल्य भने ३ लाख ९ हजार रहेको छ ।

त्यस्तै, पायोनियर वल्र्डबाइडले प्रदर्शनीमा राखेको इकुटर नामक कम्पनीका १ लाख ७५ हजारदेखि ४ लाख २० हजार रुपौयँसम्मका स्कुटरहरु रहेका छन् । उक्त ब्राण्डअन्तगृत इकुटर इटि थ्रिको मूल्य १ लाख ७५ हजार (लिड एसिड ब्याट्री) र २ लाख ४० हजार (लिथियम ब्याट्री( रहेको छ । यी मोडलले ६० देखि ८० किमि रेन्ज दिने र उच्च गति ६० किमि प्रति घण्टा दिने रहेको छ ।

त्यस्तै, इकुटर इ फाइभको मूल्य ६ लाख ९० हजार रहेको छ । यसमा भने २०० किमिसम्मको रेन्ज र १ सय किमिको उच्च स्पीड रहेको छ । त्यस्तै, इकुटरकै इ टुको मूल्य ४ लाख २० हजार रहेको छ, जसको रेन्ज १२० किमिसम्म रहेको छ । यसले भने प्रति घण्टा ७५ किमिसम्मको स्पिड दिन्छ ।

पायोनियर वल्र्डवाइडले नै बिक्री गर्ने हर्विन ब्राण्डका स्कुटर तथा बाइकहरु भने ३ लाख ५५ हजारदेखि ६ लाख रुपैयाँसम्म रहेका छन् । ३ लाख ५५ हजार रुपैयाँ मूल्यको हर्विन ईके वानले १ सय किमि रेन्ज र ६० किमि उच्च स्पीड दिन्छ । त्यस्तै, ४ लाख ५० हजार रुपैयाँ मूल्यको हर्विन एसके थ्रिले १ सय किमिसम्मको रेन्ज र ९० किमि उच्च स्पीड दिन्छ । त्यस्तै, बाइकअन्तर्गत भने ६ लाख रुपैयाँको हर्विन सिआर सिक्स रहेको छ । यसले भने १५० किमिसम्मको रेन्ज र ९५ किमिसम्मको स्पीड दिन्छ ।

त्यस्तै, भारतीय कम्पनी इनिग्माका स्कुटरहरु २ लाख ३० हजारदेखि २ लाख ९० हजार रुपैयाँसम्मको अफर मूल्यमा प्रदर्शनीमा रहेका छन् । एमआरपीमा भने यीनिहरु २ लाख ५० हजारदेखि ३ लाख २० हजार रुपैयाँसम्म रहेको यसको नेपालको बिक्रेता राइजिङ ट्रेडिङ को.प्रा.लिले जनाएको छ । प्रदर्शनीमा क्रिन्क प्रोको मूल्य २ लाख ९० हजार (एमआरपी ३ लाख २० हजार) रहेको छ । यसले रेन्ज ९० किमि र उच्च स्पिड ८० किमि प्रति घण्टासम्म रहेको छ ।

त्यस्तै, २ लाख ५५ हजार रुपैयाँ अफर मूल्य रहेको क्रिन्क भि वान (एमआरपी २ लाख ८५ हजार रुपौयाँ)ले भने १२० किमिसम्म रेन्ज र ६५ किमि प्रतिघण्टाको उच्च स्पिड दिन्छ । त्यस्तै, २ लाख ४५ हजार रुपैयाँ अफर मूल्य (एमआरपी २ लाख ६५ हजार रुपैयाँ) रहेको एन एटको रेन्ज भने १२० किमि र उच्च स्पिड ६५ किमि प्रति घण्टा रहेको छ । त्यस्तै, २ लाख ३० हजार रुपैयाँ अफर मूल्य (एमआरपी २ लाख ५० हजार रुपैयाँ) रहेको जिटि ४५० प्रोको रेन्ज १२० किमि र उच्च स्पीड ६५ किमि प्रतिघण्टा रहेको छ ।

त्यस्तै, प्रदर्शनीमा एफडी मोर्टस नेपाल, ऐमा ई-स्कुटर, इनरजिकाजस्ता विभिन्न ब्राण्डका विद्युतीय बाइक तथा स्कुटरहरु पनि प्रदर्शनीमा रहेका छन् ।


क्लिकमान्डु