चालु पुँजी कर्जामा राष्ट्र बैंक लचिलो, अब शून्यमा झार्नु नपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै लचिलो व्यवस्था गरेको छ ।

मार्गदर्शन कार्यान्वयन भएको तेस्रो वर्षपछि चालु पुँजी प्रकृत्तिको कर्जा ७ दिनसम्म लगातार शून्यमा झार्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै १० प्रतिशतसम्म बक्यौता राख्न मिल्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले २०७९ कात्तिक १ गतेदेखि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागू गरेको थियो । व्यवसायीहरुले शून्यमा झार्नुपर्ने नीति कार्यान्वयन गर्न नसकिने भन्दै विरोध जनाउँदै आएका थिए ।

‘चालू पुँजी कर्जाका बिभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्दछ,’ राष्ट्र बैंकको संशोधित व्यवस्थामा भनिएको छ ।

यस्ता छन् शर्तहरु

१, पहिलो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्नेछन् ।
२, दोस्रो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको २० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्नेछन् ।
३, तेस्रो वर्षपछि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम गर्नुपर्नेछ ।


क्लिकमान्डु