आर्थिक पत्रकारलाई चुनाव लाग्योः १० पदमा १८ जना भिड्दै, कस्ले मार्ला बाजी ?
काठमाडौं । यतिबेला आर्थिक पत्रकारहरु चुनाबी चटारोमा छन् । यही भदौ १६ गते हुने नेपाल आर्थिक पत्रकार समाज (सेजन(को साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।
हरेक दुई-दुई वर्षमा हुने सेजन चुनाबमा डेढ दर्जन पत्रकारले उम्मेद्वारी घोषणा गरिसकेका छन् । उम्मेद्वारहरुले मिडिया हाउसमै गएर र व्यक्तिगत भेटघाटलाई तीब्र बनाएका छन् ।
प्रोफेसनल पत्रकारहरुको साझा संस्था भएकाले सरकार, निजी क्षेत्र तथा सरोकारवालाहरुमाझ सेजन निकै लोकप्रिय छ । त्यसैले सेजनको नेतृत्वमा जान आर्थिक पत्रकारहरु आकर्षित हुन्छन् ।
२०५४ सालमा प्रतीक प्रधान संस्थापक अध्यक्ष भएर स्थापना गरिएको सेजनको साधारण सदस्य बन्न ५ वर्ष सक्रिय आर्थिक पत्रकारिता गरेको र स्नातक उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ । सेजनमा हाल विभिन्न सञ्चारमाध्यममा आवद्ध २८४ जना सदस्य छन् ।
खासगरी सेजनले आर्थिक पत्रकारहरुको क्षमता विस्तार गर्न काम गर्छ गर्ने संस्था हो । सेजनले थिंक ट्यांकको रुपमा काम गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिँदै आएको छ ।
को को छन् उम्मेद्वार ?
अध्यक्ष पदका लागि अहिलेको कार्यकालका उपाध्यक्ष सुजन ओली, पूर्वउपाध्यक्ष सरस्वती ढकाल र यसअघिको निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी रहेका शिरमणि ढुंगाना प्रतिस्पर्धामा छन् । ओली क्यापिटल नेपालमा, ढकाल कारोबार दैनिकमा रिपोर्टरका रुपमा कार्यरत छन् भने ढुंगाना नेपाललाइभ टुडे नामक अंग्रेजी भाषाको अनलाइनका सम्पादकको रुपमा कार्यरत छन् । यो पटक अध्यक्ष पदमा त्रिपक्षीय रोचक भिडन्त हुने भएको छ ।
त्यसैगरी, उपाध्यक्ष पदका लागि अहिलेका महासचिव भागवत भट्टराई र यसअघि महासचिवमा पराजित भएका विनय बञ्जरा प्रतिस्पर्धामा छन् । भट्टराई सेतोपाटी अनलाइनमा कार्यरत छन् भने बञ्जरा ग्यालेसक्सी फोरके टेलिभिजनको बिजनेश व्यूरो चिफ हुन् ।
सेजनमा अध्यक्षपछिको आकर्षक पद मानिएको महासचिवमा भने अहिलेसम्म एक जनाले मात्रै दाबी गरेका छन् । गोर्खापत्र दैनिकमा कार्यरत विश्वास रेग्मीमात्रै महासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
त्यसैगरी, सचिव पद पनि त्रिपक्षीय भिडन्त हुने भएको छ । क्लिकमान्डु डटकममा कार्यरत सोभित थपलिया, नयाँ पत्रिका दैनिकमा कार्यरत मुना कुँवर र दि राइजिङ नेपालमा कार्यरत रञ्जु काफ्लेले उम्मेद्वारी घोषणा गरेका छन् ।
त्यसैगरी, कोषाध्यक्ष पदमा अनलाइनखबरमा कार्यरत अच्युत पूरी र नेपाल टेलिभिजनमा कार्यरत कमला अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यसैगरी, सदस्यहरुमा राष्ट्रिय समाचार समितिमा कार्यरत हेमन्त जोशी, बिजमाण्डु डटकममा कार्यरत बसन्तराज उप्रेती, उकालो डटकममा कार्यरत केशु लामिछाने, अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत ममता थापा, कारोबार दैनिकमा कार्यरत कौशिला कुँवर, नयाँ पत्रिका दैनिकमा कार्यरत पवन तिम्सिना र एनएन टिभीमा कार्यतर छविलाल सापकोटा प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचन कमिटीमा को छ ?
मूख्य निर्वाचन अधिकृतमा पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा छन् भने सदस्यहरुमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पूरी र अधिवक्ता बाबुराम अर्याल रहेका छन् । निर्वाचन नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा हुनेछ ।