साउन महिनामा ४२६ कार भित्रिए, ७४ करोड ७८ लाख रुपैयाँ बराबर विदेशी मुद्रा खर्च



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा ४२६ वटा साना गाडी आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा २३९ वटा पेट्रोल कार, ७७ वटा डिजेलबाट चल्ने कार र ११० वटा विद्यु्तीय कार आयात भएका हुन्।

विद्युतीय कारमा ५० किलोवाट भन्दा कम क्षमताका २१ गाडी भारतबाट आयात भएका छन् । ५१ देखि १ सय किलोवाट क्षमताका ७५ गाडी चीनबाट आयात भएका छन् । ५१ देखि १ सय किलोवाट क्षकताकै ६ वटा गाडी भारतबाट आयात भएका छन् ।

१ सयदेखि २ सय किलोवाट क्षमताका ५ गाडी र २ सय देखि ३ सय किलोवाट क्षमताका ३ गाडी चीनबाट आयात भएका छन् ।

पेट्रोल कार अन्तर्गत सबैभन्दा धेरै १ हजार सीसीदेखि १५ सय सीसी सम्मका १८८ कार भारतबाट आयात भएका छन् । भारतबाटै १ हजार सीसी भन्दा कम क्षमताका ४१ वटा गाडी आयात भएका छन् ।

डिजेल गाडी अन्तर्गत पनि १५ सयदेखि २५ सय सीसीका ४७ वटा गाडी भारतबाटै आयात भएका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिनामा १३ वटा एम्बुलेन्स र शव वहान भारतबाट आयात भएको भन्सार विभागले जनाएको छ ।
पेट्रोल र इलेक्ट्रिक दुबै लाग्ने हाइब्रिड मोडलका २ वटा कार जापानबाट आयात भएको विभागको तथ्यांक छ ।

आयात भएका ११० इलेक्ट्रिक कारको मूल्य ३४ करोड ६ लाख ११ हजार रुपैयाँ छ भने ३१६ पेट्रोल र डिजेल कारको मूल्य ४० करोड ७१ लाख ९२ हजार रुपैयाँ रहेको विभागले जनाएको छ ।

साना सवारी आयातमा मात्रै साउन महिनामा ७४ करोड ७८ लाख रुपैयाँ बाहिरिएको छ ।


क्लिकमान्डु