श्रमिकको न्यूनतम पारिश्रमिक अब १७ हजार ३०० रुपैयाँ



काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० रुपैयाँ पुर्‍याएको छ ।

आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पुर्‍याइएको हो । यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३८५ र महँगी भत्ता ५ हजार ६१५ रुपैयाँ थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार २०८० साउन १ बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।

मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ । यससँगै चिया बगानबाहेकका श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ थियो ।

मन्त्रालयका अनुसार अब श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपैयाँ पुगेको छ । यसअघि यो रकम ५७७ रुपैयाँ थियो । यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक संशोधन गरेको थियो ।


रवि धिताल