सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरा मात्रै राख्छौँः उपाध्यक्ष श्रेष्ठ



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरा मात्रै राखिने बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बिहीबार उपाध्यक्ष श्रेष्ठले सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरालाई मात्रै राख्ने बताएका हुन् ।

सो योजनामा मन्त्रालयगत कुरा नराखिने र पहिलेको भन्दा फरक तरिकाले ल्याइने उनले बताए । उनले सोह्रौँ योजनामा मूल रुपमा उत्पादन र रोजगारी बढाउने कुरा समेटिने र त्यसका लागि सम्बन्धित मन्त्रालयहरुले के-के गर्ने हो भन्ने कुरा सम्बन्धित मन्त्रालयले नै गर्नुपर्ने बताए ।

उपाध्यक्ष श्रेष्ठले सामाजिक न्याय कायम नभएसम्म समृद्धि हासिल नहुने भन्दै सामाजिक न्याय कायम गर्नका लागि पनि सोह्रौँ योजनामा जोड दिइने जानकारी गराए । मुलुकमा कुनै पनि प्रकारको विभेद कायम नहोस् भन्नेमा पनि ध्यान दिइने उनको भनाइ छ ।

उनले सोह्रौँ योजनालाई केन्द्रीय योजना मात्रै नबनाएर तीनै तहको राष्ट्रिय योजना बनाउनका लागि प्रदेश योजना आयोगहरु र प्रदेश सरकारहरुसँग पनि छलफल गरिरहेको जानकारी दिए ।


रवि धिताल