बाराही ग्रुपले पोखरामा ५ तारे होटल बनाउँदै, आईपीओबाट पैसा उठाउने योजना



काठमाडौं।  बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल बन्ने भएको छ । बाराहीले १२ सय क्षमताको सभाहलसहित निर्माण गरिरहेको लक्जरी रिसोर्टमा सर्वसाधारणबाट समेत पैसा उठाउने योजना बनाएको छ ।

कम्पनीले ६ अर्ब लगानीमा नेपालको सबैभन्दा ठूलो कन्फ्रेन्स हलसहितको होटल बनाउने योजना बनाएको छ ।

६३ रोपनी क्षेत्रफलमा फैलिएको १६१ लक्जरी रूम र क्यासिनोसहित बन्ने होटलले पोखरामा फूलबारी रिसोर्ट बन्द भएपछिको कमी पूर्ति गर्ने कम्पनीको दाबी छ । होटलमा १० वटा प्रेसिडेन्सियल सुइट बनाउने कम्पनीको योजना छ ।

बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको यथासक्य छिटो आईपीओमा निष्कासन गर्ने योजना बनाएको बराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए ।

`पोखरामा फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी ५ तारे होटलको कमी थियो, हामीले त्यसलाई पूर्ति गर्न हाम्रो सोच हो,´ कम्पनीका सह-निर्देशक निश्चल राईले भने, `लक्जरी रिसोर्टले हाइ-इन्ड पर्यटकलाई सेवा दिने विश्वास छ ।´ कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

पोखरामा सन् २०१४ मा सार्क समिट आयोजना गर्ने योजना बनाएको सरकारले लक्जरी होटलको अभावले उक्त कार्यक्रम आयोजना गर्न नसकेपछि बाराही ग्रुपका प्रबन्ध निर्देशक बिप्लव पौडेलले पोखरामा लक्जरी रिसोर्ट बनाउने सपना देखेको थापाले बताए ।

'पोखरामा सार्क समिट आयोजना हुँदै छ भनेर उत्साहित भएका पौडेल सर होटलको अभावले समिट काठमाडौंमा हुने भयो भनेर सुन्दा निकै दु:खी हुनुभएको थियो,' कर्पोरेट डाइरेक्टर थापाले भने, `पौडेलले उक्त घटनापछि पोखरामा प्रेसिडेन्सियल सुइटसहितले लक्जरी रिसोर्ट बनाउने सपना देख्नुभएको थियो। त्यही सपनाअनुसार बाराही सेदी लिमिटेड स्थापना भएको हो ।´

४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले  हाल पोखराका साथै चितवन र काठमाडौंमा समेत होटल सञ्चालन गर्दै आएको छ ।

पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेलले १० कोठासहित प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए । सोही होटलमा पछि सुविधा थप गरी सन् १९८३ मा होटल बाराही नामकरण गरिएको हो ।

हाल पौडेलका छोराहरु विप्लव र वैभवले बाराही ग्रुप अगाडि बढाउँदै आएका छन् । बाराही हस्पिटालिटीअन्तर्गतका चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज, आवास पोखरा र बाराही काठमाडौँ सञ्चालनमा छन् ।

यस्तै, ग्रुपले पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एन्ड लज समेत सञ्चालनमा ल्याएको छ ।

कम्पनीले ल्यायो मनसुन अफर

बाराही ग्रुपले आफ्नो ग्रुपमा सञ्चालित होटलमा मनसुन अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत चितवन मेघौलीमा रहेको बाराही जंगल लजमा २ रात तीन दिनको ३३ हजारको प्याकेज २३ हजार ५ सय रुपैयाँमा बिक्री गरिन लागेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज नजिकै २३० रोपनीमा फैलिएको लग्जरी रिसोर्टमा ३९ वटा कटेज रुम र प्राइभेट स्विमिङ पुलसहितको स्विट भिल्ला छन् ।

यस्तै, कम्पनीले पोखरा लेकसाइडमा रहेको होटल बाराहीमा जोडीका लागि २ रात ३ दिनको प्याकेज जोडीलाई १९ हजार ९ सय ९९ रुपैयाँमा बिक्री गर्ने योजना बनाएको छ ।

यस्तै, ग्रुपले सञ्चालनमा ल्याएको सराङकोट माउन्टेन लजमा दुई जनालाई एक रातको १४ हजारमा लक्जरेव रूम बिक्री गर्ने योजना बनाएको छ । 

पोखरा लेकसाइडको ९ नम्बर मार्गमा रहेको आवास पोखरामा जोडीका लागि एक रात डिलक्स रुम, ब्रेकफास्ट, रोमान्टिक क्याण्डिल लाइट डिनर र कपल्स केकको शुल्क ६ हजार रुपैयाँ छ । रुफटप स्विमिङ पुल भएको आभाष पोखरा ३ स्टार स्ट्यान्डर्ड होटल हो ।

कान्तिपथ केशरमहलमा भर्खरै सञ्चालन आएको होटल बाराही काठमाडौंमा ल्याबिस ब्रञ्च, अराउण्ड अफ ड्रिंक्ससहित स्विमिङ पुल प्रयोग गर्ने प्याकेज शनिबारका लागि उपलब्ध गराएको छ ।

प्याकेजअनुसार वयस्कका लागि २ हजार ३९९ रुपैयाँ र हरेक बालबालिकालाई प्रतिव्यक्ति १ हजार १९९ रुपैयाँ शुल्क कायम गरिएको छ । यो प्याकेज उपभोग गर्न प्रि बुकिङ गर्नुपर्नेछ । सबै होटलका मनसुन अफर सेप्टेम्बर १५ सम्म लागू हुनेछ ।


रवि धिताल