सामाजिक सुरक्षाका योजनालाई परिमार्जित र विस्तार गर्दै लैजानुपर्छः मन्त्री भण्डारी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदालाई पनि बढाएर लगिने बताएका छन् ।

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बुधबार मन्त्री भण्डारीले सामाजिक सुरक्षाको फाइदालाई पनि बढाएर लगिने बताएका हुन् ।

नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको भन्दै यसको सम्बोधनका लागि सामाजिक सुरक्षाका योजनालाई परिमार्जन र विस्तार गर्नुपर्ने बताए । आन्तरिक श्रम बजारको गतिशीलतामार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेकन नीतिगत व्यवस्थामा सरकारले काम गरिरहेको जानकारी उनले गराए ।

मन्त्री भण्डारीले न्यूनतम ज्यालाको प्रणालीमा सुधार, सीपयुक्त श्रमशक्ति बजारमा ल्याउन राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान गठन, बाध्यकारी श्रमको अवस्थामा सुधार, बालश्रम न्यूनीकरणमा जोडलगायतका काम अहिले भइरहेको बताए ।

सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजना, श्रम बजारका नयाँ क्षेत्रसम्म विस्तार र सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालय स्थापना भइरहेको पनि उनले जानकारी दिए ।


रवि धिताल