जगदम्बा र जगशक्ति स्टिलको १५ अर्ब ४६ करोडको ब्यापार, १५ अर्ब ८० करोड ऋण
काठमाडौं। जगदम्बा इन्टरप्राइजेज प्रालिले जगदम्बा र जगशक्ति ब्राण्डको स्टिल बेचेर १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ ।
उद्योगले सन् २०२२ मा १०.२३ प्रतिशतले ब्यापार बढाएको हो । २०२१ मा उद्योगले १४ अर्ब २ करोड र २०२० मा १४ अर्ब ९८ करोड रुपैयाँको व्यापार गरेको थियो।
कारोबार बढेपनि मार्जिन भने ह्वात्तै घटेको छ । सन् २०२१ मा १०.७८ प्रतिशत रहेको मार्जिन २०२२ मा घटेर ३.१९ प्रतिशतमा खुम्चिएको छ ।
उद्योगले वार्षिक कारोबार रकमभन्दा धेरैको ऋणको रेटिङ गराएको छ । जगदम्बाले १५ अर्ब ८० करोड ६६ लाख रुपैयाँ ऋणको रेटिङ गराएको हो।
वीरगञ्जस्थित सुक्खा बन्दरगाहबाट १५ किलोमिटर पर जितपूरमा भएका उद्योगमा अनिलकुमार रुंगटा र विशाल पटवारी सञ्चालक छन्।
उद्योगले २०२२ मा स्टिल मेल्टिङ सप र २०२३ जुनदेखि हट स्ट्रिप मिल प्लान्ट सञ्चालनमा ल्याएको छ। दुई नयाँ प्लान्ट स्थापना गर्न जगदम्बाले २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ। नयाँ मेल्टिङ प्लान्ट स्थापना भएपछि उद्योगले टिएमटी बार र अन्य स्टिल उत्पादनका लागि आवश्यक बिलेट आयात निर्भरता हट्ने अपेक्षा गरेको छ।
उद्योगको उत्पादन क्षमता वार्षिक ९ लाख २० हजार ६ सय टन छ।उद्योगले विभिन्न आकारका स्टिलको उत्पादन गर्दछ। जसमा टीएमटी बार र एमएस ब्ल्याक पाइप समावेश छन्। उद्योगले जगदम्बा र जगशक्ति ब्रान्डमा विभिन्न स्टिलजन्य उत्पादहरु बिक्री वितरण गर्दै आएको छ।
पाइप, हटरोल्ड स्ट्रिप, सटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लकप्लेट, प्रिफेब्रिकेटेड बिल्डिङ कम्पोनेन्ट र विभिन्न स्टिल पोलहरू निर्माण गर्दै आएको छ।