एभरेष्ट बैंकद्वारा अफलाइन भुक्तानी सेवाको सुरुवात



काठमाडौं । एभरेष्ट बैंकले फाने पे नेपालसँगको सहकार्यमा ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सम्पूर्ण ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्नेछन् ।

यस सेवाअन्तर्गत ग्राहकले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् । विशेष कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेल र फोन पे का अन्य विशिष्ट अधिकृतहरुको समेत उपस्थिति थियो ।

समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ ऊर्जा थपेको र नेपाली बैंकिङ भविष्यलाई समेत नयाँ आकार दिएको बताए ।

साथै फाने पे का प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटका सीमालाई पार गरी आधुनिक बैंकिङमा नयाँ आयाम थपिने धारणा राखे ।

हालका लागि उक्त सुविधा एनएफसी प्रविधि भएको र एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुने बैंकले जनाएको छ । यो सेवालाई ग्राहकले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई व्यापारीको स्मार्टफोनमा ‘टयाप’ गरेपछि सजिलै भुक्तानी प्रक्रिया पूरा हुनेछ ।

व्यापारी तथा व्यवसायीले आफूसँग भएको ‘फोन पे बिजनेस एप’बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

पन्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहक छन् । बैंकले देशैभरका १२७ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


रवि धिताल