राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गरियोस्ः निर्माण व्यवसायी



फाइल तस्बिर

ललितपुर । निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानीसहित ९ बुँदे माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन् ।

उनीहरुले आज सोमबार पनि सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् । आन्दोलन गरेको १६ दिनसम्म पनि सरकारले आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने चेतावनी निर्माण व्यवसायीले दिएका छन् ।

धर्ना कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सडक विभागमा तालाबन्दी गर्ने आफ्नो अधिकारमा सरकारले रोक लगाएको बताए । सरकारले सडक विभागसम्म जान नदिए सडक जाम गर्ने चेतावनी उनको छ ।

सरकार निर्माण व्यवसायीको भुक्तानी नदिने र निर्माण व्यवसायीले काम नै गर्दैनन् भन्ने भ्रम छर्नेमा उद्यत भएको उनको आरोप छ । उनले सरकारले सार्वजनिक खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू नगरेसम्म, बिनाबजेटका योजना खारेज नगरेसम्म र पूर्वतयारीका योजना खारेज नगरेसम्म आन्दोलनमा जारी राख्ने चेतावनी दिए ।

अध्यक्ष सिंहले राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गर्नुपर्ने बताए । सबै निर्माण कार्यलाई समान हुनेगरी मूल्य समायोजन हुनुपर्ने उनको भनाइ छ ।

व्यवसायीले सार्वजनिक खरिद अनुगमनअघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गरलगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।


रवि धिताल