अर्थतन्त्रका अहिलेका समस्या अस्थायी हुन्, डराउनु पर्दैन: अर्थमन्त्री



ललितपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले नेपाल विस्तारै विकासको बाटोमा अघि बढिरहेको पनि जिकिर गरे ।

‘नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर छ,’ उनले भने, ‘अहिले नेपाल पनि विस्तारै विकासको बाटोमा अघि बढेको छ । कोरोना भाइरसलगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन् । तर यो अस्थायी हो र नेपाल अब अघि बढ्छ ।’

विदेश गएकाहरुले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँको प्रविधि प्रयोग गरेर राम्रो गरिरहको तर्क उनले गरे । नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै डा. महतले बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानीकर्ताका लागि राम्रो अवसर दिइएको बताए ।

नेपालको अहिलेको चुनौती भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको मन्त्री महतको भनाइ छ ।


रवि धिताल