पहिरोमा पुरिएर भोजपुरमा एक जनाको मृत्यु



भोजपुर । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जंगलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।

परिवारसँग निगुरो टिप्न झ्यालसिङे जंगलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो ।

पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीबारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखेका थिए ।

नयाँ श्रीनाथ गण भोजपुरका सहसेनानी सञ्जीव खत्री, नेपाल प्रहरीका प्रहरी निरीक्षक अर्जुन अधिकारी र सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारका प्रहरी निरीक्षक हरिकृष्ण गिरीको कमान्डमा गएको सुरक्षा निकायको संयुक्त टोली र स्थानीयको समूहले शुक्रबार तामाङलाई मृत अवस्थामा फेला परेका हुन् ।

मृतक तामाङको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।


रवि धिताल