उडानमा रोक लागेपछि सिम्रिक एयरले प्राधिकरणलाई बुझायो ४३ लाख बक्यौता



काठमाडौं । सिम्रिक एयरले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ । सिम्रिकले प्राधिकरणलाई शुक्रबार बक्यौता रकम बुझाएको हो ।

प्राधिकरणले बक्यौता नतिरेको भन्दै बिहीबारदेखि सिम्रिकका सबै उडान ग्राउन्डेड गरिदिएको थियो ।

सिम्रिकले प्राधिकरणलाई ५५ लाख रुपैयाँ बक्यौता रहेकोमा यसअघि आठ लाख रुपैयाँ तिरेको र शुक्रबार ४३ लाख रुपैयाँ बुझाएको हो । अब दुई लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

बक्यौता रकम चुक्ता गरे मात्र उडान फुकुवा हुने प्राधिकरणले जनाएको थियो । सिम्रिकले पूरै बक्यौता चुक्ता नगरेकाले उडान खुलाउने विषयमा भने निर्णय नभएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिलसम्म वित्तीय अवस्था कमजोर रहेका र प्राधिकरणलाई बक्यौता नतिर्ने दुईवटा एयर कम्पनीको उडान ग्राउन्डेड गरिसकेको छ ।

प्राधिकरणले ४ करोड ५० लाख बक्यौता रकम नतिरेपछि गुण एयरको उडानमा रोक लगाएको थियो । गुण एयरलाइन्सको वित्तीय अडिट कमजोर देखिएपछि माघ महिनादेखि उडानमा रोक लगाइएको हो ।


रवि धिताल