बेनी-जोमसोम-कोरला सडक पाँच दिनका लागि पूर्णरुपमा बन्द



म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कंक्रिट गरिसकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो ।

सडकमा ढुंगा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बैसरीको सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि सो अवधिका लागि घुमाउने ताल–बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गर्न लागिएको जानकारी दिए ।

दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने सम्भावना रहेकाले पहिरो सुरु हुने स्थानमा एक्साभेटर पुर्‍याएर नियन्त्रण गर्नुपर्ने देखिएको तथा पहिरो सुरु हुने स्थानबाटै पहिरो नियन्त्रण गरी समस्याको स्थायी निराकरण गर्ने काम भइरहेकाले उक्त सडकखण्ड सो अवधिमा बन्द हुने जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडकखण्डमा चल्ने हलुका सवारी साधनलाई सो समयमा चमेरे–राखु/पिप्लेबेगखोला सडकखण्डको बैकल्पिक कच्ची मार्ग प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।

‘वैकल्पिक कच्ची मार्ग ‘सिंगल ट्रयाक’को भएको हुँदा बेगखोलाबाट चमेरेतर्फ (मुस्ताङबाट बेनी आउने हलुका सवारी साधन) आउने र चमेरेबाट बेगखोलातर्फ (बेनीबाट मुस्ताङतर्फ जाने हलुका सवारी साधन) जाने सवारी साधनले आलोपालो गरेर आवातजावत हुने व्यवस्था गरिएकाले स्थानीय सुरक्षाकर्मीको समन्वयमा मात्रै सो बैकल्पिक मार्ग प्रयोग गरिदिनुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।

बैसरीको पहिरोले गत आइतबारदेखि सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।

बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा बुधबार साँझ बैसरीमा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका छन् ।

पहिरोले पुरेको जिप अझै निकालिएको छैन । सवारी धनीसमेत रहेका शेरपुञ्जाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले केही दिनअघि सूचना जारी गरेर बेनी–जोमसोम सडकको पहिरोबाट बढी प्रभावित राहुघाट–भुरुङ तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न अनुरोध गरेको थियो ।

‘सडकमा ढुंगा खस्ने समस्याका कारण दैनिकजसो यातायात अवरुद्ध हुनुका साथै सवारी साधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ,’ बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, ‘पहिरो सुरु हुने स्थानबाटै दीर्घकालीन समाधानको काम गर्दै छौं ।’

बैसरी खण्डको विकल्पमा जिप, मोटरसाइकल र ट्र्याक्टरलाई घुमाउने ताल–पिप्ले–रानीपौवा– रिसिनचौतारी–माझखर्क– बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फी प्रयोग गर्ने व्यवस्था मिलाएको प्रशासनले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

कच्ची र साँघुरो वैकल्पिक सडकमा बेगखोलाबाट घुमाउने तालतर्फ र घुमाउने तालबाट बेगखोलातर्फ जाने आउने सवारी साधनलाई सुरक्षाकर्मीको समन्वयमा आलोपालो गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको निर्देशनमा पूर्वाधार विकास कार्यालय म्याग्दीले शुक्रबारदेखि घुमाउनेताल–बेगखोला वैकल्पिक मार्गको मर्मतको काम सुरु गरेको छ ।

डोजर, ब्याकुहोलोडर, ट्र्याक्टर र मजदुर परिचालन गरेर हिलो पन्छाउने, ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने, खोलामा ह्युम पाइप राख्ने काम सुरु भएको कार्यालयका सव–इन्जिनियर रविन चोखालले जानकारी दिए ।

मुख्य सडक बन्द भएपछि सवारी साधनको चाप बढेको वैकल्पिक सडकमा आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन मन्त्रालय, प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र रघुगंगा गाउँपालिकासँग समन्वय गरेर मर्मत गर्न लागिएको गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताए । हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउने काम थालिएको छ ।

(रासस)


रवि धिताल