सीजी पोलिटेक्निकबाट ७३ युवाले लिए तालिम, प्राविधिक शिक्षामा उद्योगपति चौधरीको जोड



नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको सीजी पोलिटेक्निकलबाट ७३ युवाले प्राविधिक तालिम पुरा गरेका छन् । ३४ जनाले इलेक्ट्रिक र ३९ जनाले मेकानिकलको तालिम सम्पन्न गरेका हुन् । प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाका युवाहरुले ६ महिने तालिम पुरा गरेका हुन् ।

नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा युवाहरुलाई प्राविधिक शिक्षा दिने गरी पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन् । उनले निर्वाचनका बेला युवाहरुलाई स्वरोजगार बनाउन पोलिटेक्निक सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । चुनावी प्रतिबद्धताअनुसार उनले निर्वाचित भएलगत्तै पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चौधरीले युवाहरुलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेता चौधरीले प्राविधिक शिक्षाले युवाहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने बताए ।

शुक्रबार नवलपरासीको प्रतापपुर गाउँपालिकामा सीजी पोलिटेक्निकद्वारा सञ्चालित इलेक्ट्रिक र मेकानिकल तालिमका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले भने, ‘देशभित्र रोजगारीका क्षेत्रहरु सिमित छन् । युवाहरुले सहजै रोजगारी पाइरहेका छैनन् । त्यसका लागि सरकारले प्राविधिक शिक्षामा जोड दिनुपर्छ । प्राविधिक शिक्षा भयो भने युवाहरु आफै स्वरोजगारमूलक काम गर्न सक्छन् ।’

उनले नेपालबाट अदक्ष कामदार श्रमका लागि गइरहेको उल्लेख गर्दै प्राविधिक शिक्षा भए युवाहरुले विदेशमा पनि राम्रो काम पाउने बताए । ‘सरकारको प्राथमिकता देशभित्रै युवाहरुलाई रोजगारी दिने हुनुपर्छ । युवाहरुलाई उद्यमशीलतासँग जोड्नु प्राविधिक शिक्षा बढी प्रभावकारी हुन्छ,’ उनले भने, ‘देशमा अवसर नपाएपछि युवाहरु विदेशिनुपर्ने बाध्यता छ । त्यसका लागि प्राविधिक ज्ञान भएका दक्ष जनशक्ति पठाउन सकियो भने हाम्रा भाईबहिनीहरुले पनि राम्रो काम पाउँछन् । सेवा सुविधा पनि राम्रो हुन्छ ।’

कार्यक्रममा प्रदेश सांसद  देवकरणप्रसाद कलवारले प्राविधिक शिक्षाले त्यस क्षेत्रका युवाहरुलाई रोजगारी पाउन सहज हुने विश्वास गरे । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले गाउँमा प्राविधिक शिक्षा पाएपछि युवाहरु लाभान्वित भएको बताए । सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले पनि प्राविधिक शिक्षाको महत्वमाथि जोड दिए । दोस्रो चरणको तालिमका लागि तयारी सुरु भएको सीजी पोलिटेक्निकले जनाएको छ ।


रवि धिताल