प्राविधिक शिक्षाका लागि लर्डवुद्ध र हिमालयन लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौँ । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेसन र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् ।

सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउण्डेशन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले हस्ताक्षर गरे ।

फाउण्डेसनमा सूचना प्रविधि तथा व्यवस्थापने विषयमा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउण्डेसनका अध्यक्ष जलानले बताए ।

सहमतिअनुसार फाउण्डेसनले एमबिए र एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीको सिफारिसमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कर्णले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए । सो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनको भनाइ छ ।

सूचना प्रविधि र व्यावसायिक शिक्षाको विकास र प्रयोग बढे पनि त्यसअनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफूहरूले पहल गरेको अध्यक्ष जलानको भनाइ छ । सरकारले अङ्गीकार गरेको पढ्दै कमाउँदै नीतिको व्यावहारिक कार्यान्वयनका लागि फाउण्डेसनले पनि पहल गरिरहेको उनले बताए ।


रवि धिताल