सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा भएको छ ।

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु, लेखा अधिकृत, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नगरपालिकाले मधेस प्रदेश सरकारको अनुदानबाट आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित योजनामा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नगराई रकम हिनामिना गरेको अख्तियारको अभियोगमा उल्लेख छ ।

वीरेन्द्रप्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सव-इन्जिनियर उपेन्द्र कुशवाहाले नगरपालिकाको वडा नं. ३ मा सामुदायिक भवन निर्माण कार्य र वडा नं. ३ नयकाटोलमा बर्थिङ सेन्टर निर्माण कार्यमा सम्झौताविपरीत निर्माण स्थलमा भएको परिमाणको झुट्ठा बिल भरपाइ बनाएर ३७ लाख ९३ हजार ३९२ रुपैयाँ भुक्तानी दिएको अख्तियारको दाबी छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१)(ङ) बमोजिमको कसुर गरेको देखिएकाले वीरेन्द्रप्रसाद साह कानु, सर्मेन्द्रप्रसाद चौधरी, सुरेशकुमार यादव र उपेन्द्र कुशवाहालाई ३७ लाख ९३ हजार ३९२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन साथै निजहरु इन्जिनियर सुरेशकुमार यादव र सब-इन्जिनियर उपेन्द्र कुशवाहाले गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको देखिन आएकोले सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम कैद र जरिवाना हुनसमेत मागदाबी गरिएको छ ।

सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्र प्रसाद यादव, सचिव विजय कुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीले नगरपालिकासँग भएको सम्झौताबमोजिमको सर्त पालना नगरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

सिम्रौनगढ नगरपालिका वडा नं. ३ मा सामुदायिक भवन निर्माण कार्यका लागि १९ लाख ७ हजार ५३२ र सिम्रौनगढ नगरपालिका वडा नं. ३ नयकाटोलमा बर्थिङ सेन्टर निर्माण कार्यका लागि १८ लाख ८५ हजार ८६० रुपैयाँको बिल नगरपालिकाको कार्यालयमा पेस गरी भुक्तानीसमेत लिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको अख्तियारका प्रवक्ता भोला रिजालले जानकारी दिए ।

सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव, कोषाध्यक्ष कविता देवीलाई १९ लाख ७ हजार ५३२ र बर्थिङ सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीलाई १८ लाख ८५ हजार ८६० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको सजाय मागदाबी गरिएको छ ।


रवि धिताल