बामदेवले खोले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नुको अन्तर्य



काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्नुको नेकपा एमालेको उद्देश्य खोतलेका छन् ।

राष्ट्रियसभा बैठकमा बुधबार उनले एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन हुन सक्ने र त्यसका लागि उनीहरुले राजीनामा गर्ने अवस्था आउने बताएका हुन् ।

उच्चस्तरीय छानबिन समिति निर्माण गर्नेबित्तिकै कार्यादेश हुने, कार्यक्षेत्र हुने, कहाँसम्म प्रवेश गर्ने भन्ने हुने र त्यसले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसम्म पनि प्रवेश गर्ने अधिकार माग्ने उनले बताए ।

हाम्रो कानुनमा निलम्बन गर्ने व्यवस्था नभएकाले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने, त्यसपछि अर्को प्रधानमन्त्री निर्वाचित गर्ने प्रक्रिया सुरु हुने र छानबिन नै ओझेलमा पर्ने उनको भनाइ छ ।

एमालेको मागअनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने अहिले भइरहेको छानबिन प्रभावित हुने नेता गौतमले स्पष्ट पारे । घुमाउरो पाराले सरकार विघटन गराउन खोजेको भन्दै उनले प्रधानमन्त्री हटाउनै चाहेको भए अविश्वास प्रस्ताव ल्याउन एमालेलाई चुनौती दिए । ‘त्यसरी प्रधानमन्त्रीलाई हटाउने हो भने सिधै अविश्वास प्रस्ताव लगे भइहाल्यो,’ उनले भने ।

पूर्वगृहमन्त्रीसमेत रहेका गौतमले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधिसभामा सम्बोधनका क्रममा ३५ दिन समय मागेको र त्यसपछि उच्चस्तरीय छानबिन समिति गठनमा जान सकिने बताए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन प्रकरणको छानबिनका लागि एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । एमालेले गृहमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि नै आशंका रहेको भन्दै नेपाल प्रहरीको सीआईबीले मात्र अनुसन्धान गर्न नसक्ने दाबी गर्दै आएको छ ।

उच्चस्तरीय छानबिन समितिलाई मुख्य मुद्दा बनाउँदै एमालेले दुवै सदन चल्नसमेत दिएको छैन ।


रवि धिताल