एक वर्षमा वासिङ मेसिन र रेफ्रिजेरेटरको आयात ह्वात्तै घट्दा एसीको बढ्यो



काठमाडौँ । तराईं र काठमाडौँ उपत्यकामा गर्मी बढेसँगै एसीको प्रयोग बढेको छ । केही वर्ष अगाडिसम्म कार्यालय र उच्च वर्गमा घरमा मात्रै प्रयोग हुने एसी मध्यम वर्गले समेत घरायसी प्रयोजनमा प्रयोग गर्न थालेपछि बजारमा एसीको माग बढेको छ ।

गत वर्ष नेपालमा हुने विभिन्न बस्तुको आयात १६ प्रतिशतले घट्यो । अघिल्लो वर्ष १९ खर्ब २० अर्ब रुपैयाँको आयात भएकोमा गत वर्ष आयात १६ खर्ब ११ अर्बमा सिमित छ । सोही अवधीमा एसीको आयात भने २८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ७६ हजार ४०४ एसी आयात भएका छन् । जबकी अघिल्लो वर्ष ५९ हजार ६११ वटा मात्रै एसी आयात भएका थिए ।

एसीको मूल्य घट्नुको साथैं वैदेशिक रोजगारीमा जानेको आम्दानी बढ्दा निजी घरमा एसीको प्रयोग बढेको व्यवसायीहरु बताउँछन् ।

विगतमा कार्यालयहरुमा मात्रै प्रयोग हुने मध्यम वर्गले निजी घरमा पनि प्रयोग गर्न थालेपछी एसीको आयात बढेको व्यवसायीहरुले बताएका छन् ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा एसीको आयातमा वृद्धी हुँदा घरायसी प्रयोगको वासीङ मेसिन र रेफ्रीजेनेटरको आयात ह्वात्तै घटेको छ ।

गत आर्थिक वर्षमा ७९ हजार ९७४ वासिङ मेसिन आयात भएको विभागले जनाएको छ । जबकी अघिल्लो वर्ष १ लाख २० हजार १३९ वासिङ मेसिन आयात भएको थियो ।

यस्तै गत वर्ष २ लाख ५५ हजार ८७ रेफ्रिजेनेटर आयात भएको छ । अघिल्लो वर्ष ३ लाख ६४ हजार ३८४ रेफ्रीजेनेटर आयात भएको थियो ।


क्लिकमान्डु