निरन्तरको वर्षाले राजधानी काठमाडौं जलमग्न



काठमाडौं । सोमबारदेखिको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र जलमग्न भएका छन् । निरन्तरको वर्षाले नदीमा जलस्तर बढ्दा विभिन्न क्षेत्र डुबानमा परेका हुन् ।

काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ देखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिले जनाएको छ । तरकारी बजारका साढे ३ सयभन्दा बढी पसलमा बाढी पसेको छ ।

लगातारको वर्षाले भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको हो । पहिरोले मानवीय क्षति भने हुन पाएन ।

वर्षाले भक्तपुरका बाराहीस्थान, सिद्धी स्मृति अस्पताललगायतका क्षेत्र पनि डुबानमा परेका छन् । हनुमन्ते खोलामा जलस्तर उल्लेख्य बढेको छ ।

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबानमा परेको छ । भारी वर्षाका कारण बसपार्कनजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो ।

विष्णुमतीमा पानीको बहाव बढेर सडकबाट बगिरहेको छ भने घर तथा पसलहरुमा बाढी पसेको छ । नजिकैको दीपज्योति आवासीय विद्यालय पनि डुबानमा परेको छ । सामाखुसी र गोंगबु क्षेत्र पनि डुबानमा परेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नदीमा पानीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।


रवि धिताल