बैंकमा १०० रुपैयाँ लगानी गर्नेको कमाइ साढे ४ रुपैयाँ !



काठमाडौं । पक्कै पनि तपाईंले एउटै बैंकले अर्बौं रुपैयाँ नाफा कमाएको समाचार पढ्नुभएको हुनुपर्छ । र, त्यस्ता समाचार पढेपछि तपाईंको मनमा स्वाभाविकरुपमा प्रश्न उब्जेको हुनुपर्छ- अर्थतन्त्र संकुचनमा परेको अवस्थामा पनि बैंकले भने कसरी अर्बौं नाफा कमाए ?

बेला-बेलामा उद्योगी व्यवसायीहरुसमेत बैंकहरुले ऋणीसँग चर्को ब्याजदर असूलेर बैंकले अर्बौं रकम नाफा कमाएको भन्दै सडक आन्दोलनसमेत गर्दै आएका छन् ।

बैंकले अर्बौं नाफा कमाएको समाचार र व्यवसायीहरुको आन्दोलन देख्दा तपाईंलाई लाग्नसक्छ नेपालका बैंकहरुले ऋणी चुसेर यतिधेरै नाफा कमाइरहेका छन् ।

तर, के बैंकहरुले कमाएको नाफा अस्वाभाविक हो त ? यो बुझ्नका लागि सबैभन्दा पहिला बैंकको पुँजी हेर्नुपर्छ । बैंकहरुले पुँजीमा कति प्रतिफल दिए भनेर विश्लेषण नगरी अर्बौं नाफा कमाए भन्नु सरासर गलत हुन्छ ।

बैंकको नाफा धेरै हो वा थोरै हो ? भनेर यथार्थ जानकारी दिने उदेश्यले यो आलेख तयार पारिएको हो ।

अब गत आर्थिक वर्षकै कुरा गरौं । आर्थिक वर्ष २०७९/८० मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ७० अर्ब रुपैयाँ १७ करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा लेखापरीक्षणअघिको अनुमानित हो । लेखापरीक्षणपछि घट्ने निश्चित छ । कमाएको उक्त नाफाबाट बैंकहरुले अधिकत ३१ अर्ब ९० करोड रुपैयाँमात्रै लाभांश बाँड्न पाउँछन् । सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेष्ट बैंकको (४०.५) प्रतिशत छ भने सबैभन्दा कम प्रभु (०.६४ प्रतिशत) र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.४६ प्रतिशत लाभांश दिने क्षमता छ । हिमालयन र कुमारी बैंकको लाभांश दिने क्षमता ऋणात्मक छ ।

बैंकले आफ्ना लगानीकर्तालाई लाभांश बाँड्न मिल्ने गरी ३१ अर्ब ९० करोड रुपैयाँ कमाउँदा सरकारलाई २९ अर्ब ६० करोड रुपैयाँ कर तिरेका छन् । वाणिज्य बैंकहरुको कुल पुँजी ७ खर्ब रुपैयाँको हाराहारीमा छ । तसर्थ, बैंकहरुले कमाएको वितरणयोग्य नाफा उक्त सम्पत्तिको ४.७१ प्रतिशत मात्रै हो । अर्थात्, बैंकका लगानीकर्ताहरुले ७ खर्ब रुपैयाँ लगानी गरेर गत आर्थिक वर्षमा ४.७१ प्रतिशतमात्रै प्रतिफल पाएका छन् । यो नेपाली बैंकहरुको इतिहासमै सर्वाधिक कम प्रतिफल हो ।

पछिल्ला ५ वर्षमा बैंकहरुको प्रतिफल औषतमा ९ देखि १४ प्रतिशतसम्म थियो । गत वर्ष घटेर ४.७१ प्रतिशतमा झरेको हो । निश्चय पनि यो प्रतिफल निराशाजनक हो । बैंकका लगानीकर्ताहरु भने पछिल्लो समयको प्रतिफलदेखि अत्याधिक निराश भएका छन् ।

क्लिकमाण्डूसँगको अन्तर्वार्तामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले भनेका थिए( ‘वाणिज्य बैंकहरुको दिने प्रतिफल घट्दै गएको छ, अवस्था यस्तै रहे म बैंकिङ क्षेत्रबाट बाहिरन सक्छु ।’

उनको भनाइको तात्पर्य थियो, कुनै समय वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी (आरओई) २० प्रतिशतभन्दा माथि २२ प्रतिशतसम्म थियो । तर, अहिले त्यो घट्दै गइरहेको छ ।

‘मैले लगानीकर्ता गर्दा कम्तीमा २० प्रतिशतको प्रतिफल अपेक्षा गर्छु, यद्यपि अहिले १४/१५ प्रतिशतमा हुँदा पनि मलाई समस्या छैन । तर आरओई १० प्रतिशतभन्दा कम हुन थाल्यो भने मैले लगानी डाइभर्ट गर्नैपर्छ,’ उनले भनेका थिए ।

पाँडे अध्यक्ष रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत वर्षको नाफाबाट सबैभन्दा कम अर्थात् ०.४६ प्रतिशतमात्रै लाभांश दिने क्षमता राख्छ ।

निजी क्षेत्रले लगानी गर्दा उचित प्रतिफल खोज्ने तर अहिले बैंकहरुबाट त्यसप्रकारको प्रतिफल घट्दै गएको बताएका थिए ।
‘यहाँ त बैंकहरुले मात्रै पैसा कमाएको जस्तो गरी प्रचारप्रसार गरिएको छ । अब बैंकहरुका सुनौला दिनहरु गइसकेका छन्,’ उनले भनेका थिए ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान बैंकहरुले गरेको अर्बौं नाफाको तथ्यांककै भरमा धेरै कमाए भन्न नमिल्ने बताउँछन् ।

‘मैले ट्रेडिङ कम्पनीमा हेरेको ६ हजार प्रतिशतसम्म नाफा छ । त्यो मान्छेले बैंकले धेरै नाफा गर्यो र बैंकको स्प्रेडदर ३ प्रतिशतमा झारिदिनुहोस् भन्न मिल्दैन । हामीले पनि व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिन हुँदैन भन्न मिल्दैन,’ उनले भने।

गोल्यान बैंकहरुको नाफाको फिगर हेरेर नाफा बढ्यो भन्ने तर आरओई घट्यो भनेर नभन्ने गर्दा समस्या भएको बताउँछन् ।
तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले २०७६ साल माघ ७ गते कृषि विकास बैंकको वार्षिकोत्सवलाई सम्बोधन गर्दै बैंकहरुले २र३ अर्ब रुपैयाँ कमाउनु धेरै नभएको बताएका थिए ।

‘१५ अर्बको बैंकले १५ प्रतिशत मुनाफा बाँड्नुपर्यो भने पनि २ अर्ब रुपैयाँभन्दा बढी नाफा गर्नुपर्छ, बैंकहरुको नाफा २ अर्ब भएपछि व्यवसायी साथीहरुलाई आँखा लाग्छ, २र२ अर्ब नाफा, ३/३ अर्ब नाफा, ४/४ अर्ब नाफा अनि पुँजी कति छ भनेर नाफा नगरिदिने रु’ उनले भनेका थिए ।

अब १० वर्ष अगाडि जाऔं ।

आर्थिक वर्ष २०६९/७० मा वाणिज्य बैंकहरको कुल पुँजी ८३ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ थियो । उक्त वर्ष बैंकहरुले १५ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका थिए । बैंकहरुले पुँजीमा २२ प्रतिशत प्रतिफल दिएका थिए ।

आव २०७४र७५ मा वाणिज्य बैंकहरुको कुल पुँजी ३ खर्ब ८८ करोड रुपैयाँ पुग्यो । उक्त वर्ष बैंकहरुले ४१ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएका थिए । यो भनेको पुँजीमा साढे १५ प्रतिशतको प्रतिफल हो ।

पछिल्लो ९ वर्षको अवधिमा बैंकहरुको पुँजी साढे ७ गुणाले बढेको छ । तर नाफा भने ५ गुणाले मात्रै बढेको छ । पुँजी बढे अनुसार नाफा बढ्न नसक्दा बैंकहरुको प्रतिफल घटेको हो ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा औसत आरओई ११/०६ प्रतिशत थियो भने आव २०७६/७७ मा यो १०.७६ प्रतिशतमा सीमित भएको थियो । त्यसैगरी आव २०७५र७६ मा भने औसत आरओई १४.१० प्रतिशत थियो ।

गत आवमा वाणिज्य बैंकहरुको नाफा २५ प्रतिशतले बढेको छ । अहिले बैंकहरुको कुल पुँजी ७ खर्ब रुपैयाँ छ र बैंकहरुको वितरणयोग्य नाफा ३१ अर्ब ९० करोड रुपैयाँ छ । वितरणयोग्य नाफाका आधारमा बैंकका लगानीकर्ताको प्रतिफल ४.७१ प्रतिशत हो ।

मुद्दति निक्षेपभन्दा कम प्रतिफल

तपाईंले मुद्दति निक्षेपमा पैसा राख्नुभयो भने तीनै बैंकहरुले तपाईंलाई साढे १० प्रतिशमाथि ब्याज दिन्छन् । तपाईंले पाउने ब्याजमा सरकारले ५ प्रतिशत आयकर लिन्छ । मानौं तपाईंले एनएमबि बैंकमा १ करोड रुपैयाँ मुद्दति निक्षेप राख्नुभयो भने उसले तपाईंलाई १०.९३ प्रतिशत १० लाख ९३ हजार रुपैयाँ ब्याज पाउनुहुन्छ । त्यसमा सरकारले ५४ हजार रुपैयाँ करबापत लिन्छ । यसो गर्दा तपाईंको हातमा १० लाख ३९ हजार रुपैयाँ कमाइ हुन्छ । तर, सोही बैंकको सेयरमा लगानी गर्नेले गत वर्षको नाफाबाट ८.८ प्रतिशत लाभांश पाउँछन् । त्यस्तै, बैंकको कुल पुँजी २९ अर्ब ३१ करोड रुपैयाँ छ । गत वर्ष बैंकले १ अर्ब ५० करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । यस आधारमा विश्लेषण गर्ने हो भने त यो बैंकले लगानीकर्ताको लगानीमा ५ प्रतिशतको प्रतिफल हो ।

बैंकहरुको नाफालाई अंकमा नहेरी पुँजीमा प्रतिफलका आधारले हेर्नुपर्ने पूर्वबैंकर भुवन दहाल बताउँछन् ।

‘नाफा धेरै हो वा थोरै हो भनेर हेर्न बैंकहरुको कुल पुँनी र उनीहरुले कमाएको नाफालाई हेर्यो भने पुगिहाल्छ,’ दहालले भने, ‘यसरी हेर्दा बैंकहरुको नाफा बढी होइन, निकै नै कम भएको छ ।’


क्लिकमान्डु