जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप
एजेन्सी । अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ । आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ ।
जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न हालै बेइजिङ पुगेका अमेरिकी जलवायु दूत जोन केरीलाई चीनका उपराष्ट्रपति हान झेङले जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न चीन तयार रहेको तर त्यसका लागि चीनका राजनीतिक माग पूरा हुनुपर्ने सर्त अघि सारेका थिए ।
पारस्परिक सम्मानमा आधारिकत चीन-अमेरिका सम्बन्धलाई अघि बढाउन बेइजिङ तयार रहेको, जलवायुसम्बन्धी मुद्दामा पनि बहस गर्न प्रतिबद्ध रहेको तर ताइवान मामिला, दक्षिण चीन सागर विवादलगायत विषयमा अमेरिकी हस्तक्षेप अस्वीकार्य हुनेमा उनले जोड दिएको सरकारी समाचार समिति सिन्ह्वाले जनाएको छ ।
जलवायु परिवर्तनसम्बन्धी विषयलाई लिएर अमेरिका र चीनबीच मतभेद अझ बढेको छ । तत्कालीन अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा चिसिएको वासिङ्टन र बेइजिङबीच सम्बन्ध जलवायु परिवर्तनको असरलाई लिएर अझ बिग्रिएको हो ।
सन् २०३० सम्ममा कार्बनडाइअक्साइड उत्सर्जन बन्द गर्ने र सन् २०६० सम्ममा कार्बन न्युट्रल बन्ने लक्ष्य प्राप्तिमा चीन बाधक हुन नहुनेमा अमेरिकाको जोड छ ।
अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरसँगको भेटमा पनि चिनियाँ बाह्य मामिला आयोगका निर्देशक तथा पूर्वविदेशमन्त्री चीनका वाङ यीले पनि ताइवान मामिलालाई लिएर अमेरिकी सहयोग रोकिनुपर्ने तथा राष्ट्रपति साई इङ–वेनको नेतृत्वको ताइवान सरकारसँगको सम्पर्कबाट टाढा रहनुपर्ने सर्त पेस गरेका थिए ।
एक स्वतन्त्र नागरिकको रुपमा बेइजिङ भ्रमणमा पुगेका किसिन्जरमार्फत अमेरिकालाई बेइजिङले दिएको सन्देश ताइवानको स्वतन्त्र ‘अस्तित्व अस्वीकार गर्नुपर्छ’ भन्ने थियो ।
तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले अवलम्बन गरेको नीतिलाई नै वाइडेन प्रशासनले पनि निरन्तरता दिएको छ । उत्पादन र उपभोगमा विश्वको अग्रणी राष्ट्र चीनमा कोइलाका नयाँ थर्मल पावर प्लान्ट निर्माण भइरहेका छन्, जसले जलवायु परिवर्तनका गम्भीर मुद्दालाई ओझेलमा पारेका छन् ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २००६ देखि कार्बन उत्सर्जनमा अमेरिकालाई उछिनेको चीनले यसमा आफूलाई अझै पनि अग्रपङ्तिमा कायम राखेको छ भने अमेरिकाको कार्बन उत्सर्जजमा केही कमी आएको छ । चीन विश्वको सबैभन्दा अधिक कार्बनडाइअक्साइड उत्सर्जन गर्ने देश बनेको छ ।