विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
बालुवाटारमा मंगलबार बिहान आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकमा प्रधानमन्त्रीले राज्यको सीमितता र साधनस्रोतका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको कार्य अगाडि बढाउन निर्देशन दिएका हुन् ।
‘राज्यको साधनस्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले काफी हदसम्म सुधार गर्न सकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्त छन्,’ उनले भने ।
विश्वविद्यालयका पदाधिकारीलाई आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता कामहरू गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्न उनले ध्यानाकृष्ट गराएका छन् ।