अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ३ करोड ३२ लाख माग दाबीसहित मुद्दा दायर



काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ माग दाबीसहित मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । कार्यालयका अनुसार ६२ जना बचतकर्ताको जाहेरीमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

मुलुकी संहिता २०७४ को दफा २५४ बमोजिम उक्त मुद्दामा हालसम्म परेका जाहेरीका आधारमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ भराई पाऊँ भन्दै मुद्दा दायर भएको कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ स्थायी घर भएका अनिल खड्का सहकारीका अध्यक्ष हुन् । उनीसहित १० जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर भएको हो । खड्का फरार छन् ।

यस्तै संस्थाका लेखा समिति सदस्य सुवास बुढाथोकी, लेखा समिति सदस्य वविता खड्का, सञ्चालक समिति सदस्य प्रकाश खड्का, उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, सदस्य विक्रम राणा, सञ्चालक समिति सदस्य शुशील बोहरा र लेखा समिति संयोजक गोविन्द बुढाथोकीविरुद्ध सहकारी ठगी मुद्दा दायर भएको छ ।

सहकारीका अध्यक्ष खड्काले संस्था आफू अनुकूल चलाउने र आफूलाई सहयोग गर्ने व्यक्तिलाई सञ्चालक समिति बनाउँदा बचतकर्ता ठगिएको पाइएको छ । संस्थामा अधिकांश व्यक्ति सिन्धुपाल्चोकका रहेको पाइएको छ ।


क्लिकमान्डु