गलत समाचार लेख्ने पत्रकारलाई २ करोड जरिवाना



एजेन्सी । भारतको एक अदालतले गलत समाचार लेखेको अभियोगमा पत्रकार र सञ्चारगृहबाट पीडितलाई २ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

दिल्ली उच्च अदालतले तेहेल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल र मेसर्स तेहेल्का डटकमलाई दुई करोड क्षतिपूर्ति गर्न आदेश दिएको हो ।

न्यायाधीश नीना वंशल कृष्णाको इजलासले सेवानिवृत्त सैनिक अधिकृत ए एस अलुवालियालाई निजहरूबाट उक्त रकम क्षतिपूर्तिस्वरुप भराउने आदेश भएको हो ।

सन् २००१ मा मेजर जनरल अलुवालियाले सैन्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तेहेल्का डटकमले गोप्य कारबाही (स्टिङ अपरेसन) गरेर खरिदसम्बन्धी विवरण सार्वजनिक गरेको थियो ।

तेहेल्काले सार्वजनिक गरेका भ्रमपूर्ण समाचार सामग्रीबाट आफ्नो मानहानी भएको जिकिर गर्दै जनरल आलुवालियाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनीमाथि प्रतिरक्षा सामग्री आयातमा ठूलो घोटाला गरिएको आरोप लगाइएको थियो ।

प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर तेहेल्काका दुई पत्रकारले स्टिङ अपरेसन गरेका थिए । उनले एक शिशी ब्लु लेबल ह्विस्की र १० लाख घुस मागेको श्रव्य सामग्री तेहेल्काले प्रसारण गरेको थियो ।

उक्त सामग्री प्रसारण हुनेबित्तिकै भारतीय सेनाले उनीमाथि छानबिन थालेको थियो । छानबिनबाट प्रसारित श्रव्य सामग्री असत्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो ।

न्यायाधीश कृष्णाले भ्रामक समाचारबाट पीडितको चरित्र हत्या भएको सार्वजनिक मानप्रतिष्ठामा ठूलो आघात पुगेको र क्षमायाचनाबाट समेत त्यो आघात नमेटिने जनाउँदै उक्त रकम क्षतिपूर्ति भर्न आदेश दिएकी हुन् ।


क्लिकमान्डु