सीजीएग्रोटेक र डीएमसीसीबीच एग्रि कमोडिटी ट्रेडको सम्झौता
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सीजीएग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीयव्यापार बढाउन मद्दत पुग्ने सीजीएग्रोटेकले जनाएको छ ।
एक कार्यक्रममा चौधरी गु्रपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सहकार्यले डीएमसी र सीजीएग्रोटेकबीच बलियो सम्बन्ध स्थापनागर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिने र कफी, चिया तथा महको निर्यातमा रहेका अवसर तथा अफ्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्ने जनाइएको छ ।
सम्झौतापछि सीजीएग्रोटेकका प्रबन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल–युएई बीच रहेको कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास ब्यक्त गरे ।
डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीका अनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ । यो वृद्धिदर जारी रहने देखिएको जनाइएको छ । साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको मागअझ बढ्ने उनले बताए ।