इमेज सहकारी ठगी प्रकरणः राति सवा २ बजे दराज फोडेर फाइलसहित अध्यक्ष फरार



काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक शक्ति किसानले प्रहरीमा बयान दिएका छन् । सहकारीका अध्यक्ष देव कुमार नेपालीसहितले १ हजार ५४३ बचतकर्तालाई ठगेर फरार रहेका छन् ।

सहकारीबाट ठगिएका बचतकर्ताले उजुरी दिएपछि अध्यक्ष नेपालीसहित ११ जना विरुद्ध १ अर्ब ३० करोड र १० बर्ष कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरेको छ ।

मुद्दा दायर गरेका ११ जनामध्ये ३ जना पक्राउ परेका छन् । बाँकी फरार रहेका छन् । पक्राउ परेका सबैले बयान दिएका छन्। जसमा संस्थाका प्रबन्धक शक्ती किसानले पनि बयान दिएका छ ।

बागलुङको बागलुङ नगरपालिका- ३ गुठीका किसानले बयान दिने क्रममा आफुले संस्थाको सम्पूर्ण प्रशासनिक कार्य गर्ने गरेको जनाएको छ । उनले बयानका क्रममा संस्थाले अध्यक्षको मौखिक आदेशमा कुनै धितो नराखी ऋण दिने गरेको स्वीकारेका छन् ।

यस्तै बयानका क्रममा संस्थाका अध्यक्ष देव कुमार नेपालीको निर्देशनको आधारमा ऋण प्रवाह गर्ने, नेपालीको निर्देशनमा हिसाव मिलानको लागी कृत्रिम व्यक्तीलाई ऋणी कायम गरी ऋण बनाउने काम गरेको स्वीकारेका छन् ।

उनका अनुसार ठुला बचतकर्ताहरु लगायतका बचतकर्ताहरुले बचत गरेको रकम निजहरुको व्यक्तीगत खातामा रेकर्ड नराखी म्यानुअल रुपमा रजिष्ट्ररमा रेकर्ड राखी सफ्टवेयरमा छुट्टै खाता नम्बर १०४०३-०१००-०६२२१ र १०४०३-०९००-०६२२० मा रकम जम्मा गरी उक्त रकम बिभिन्न मितिमा कृत्रिम ऋणी व्यक्ती खडा गरी निजहरुलाई ऋण प्रवाह गरेको देखाई हिसाव मिलान गरी अध्यक्ष नेपालीले व्यक्तिगत प्रयोजनको लागी उक्त बचत रकम प्रयोग गरी रकम हिनामिना गरेको स्वीकारेका छन्।  

किसानले बयानका क्रममा आफु सहकारीको मुख्य कार्यालय करिब ७ वर्षदेखि कार्यरत रहेको र २०७६ साल देखि हालसम्म प्रबन्धकको रुपमा कार्यरत रहेको बताएका छन् ।

उनका अनुसार सहकारीले प्रयोगमा ल्याएको फिनयाक्ट सफ्टवयरको बासलातमा सम्पतिको महलमा ल्यान्ड एन्ड भनेर ३० करोड रुपैयाँ मात्र देखाइएको छ । उक्त रकम हाल इमेज सहकारी बसेको बागलुङ नगरपालिका-२ हल्लनचोकमा रहेको कर्मा कम्प्लेक्स भवनलाई देखाइएको जनाएका छन् । तर, सहकारी ऐन नियमबमोजिम उक्त भवन संस्थाको नाममा नरहेको उनको भनाइ छ ।

‘बचत रकम बजार प्रतिनिधिमार्फत पसल-पसल, घर-घरमा गई संकलन गर्ने वा सेवाकेन्द्रमा बचतकर्ता आफैँ उपस्थित भई जम्मा गर्न सकिने सो रकम जम्मा विवरण पासबुकमा चढाउने, १० लाख तथा त्योभन्दा बढी रकम रजिष्टरमा म्यानुल रुपमा लेखेर राखी सहकारीको सफ्टवेयर सिष्टममा खोलिएको एउटा खातामा उक्त वचतकर्ताहरुको ठुलो रकम भएको मुद्दति रकम एउटैमा जम्मा गर्ने व्यवस्था गरिएको थियो, !’ बयानका क्रममा उनले भनेका छन्, ‘उक्त रकम पोष्टिङ गर्ने काम लेखा प्रमुख लालमति रोकाले गर्ने गर्दथिन् ।

‘संस्थाका अध्यक्ष देवकुमार नेपालीको मौखिक आदेशमा कुनै धितो नराखी ऋण प्रवाह गर्दै आइरहेका छौँ । मैले कर्जा प्रवाहको फाइल तयार गरेपछि कोही ऋणीले क्यास काउन्टरबाट रकम भुक्तानी लिन्थे भने कोही-कोहीको निजहरुको खातामा रकम जम्मा गर्ने गरिन्थ्यो । सो सम्बन्धमा दिन भरको हिसाब मिलान लेखा प्रमुख लालमति रोकाले गर्नुहुन्थ्यो,’ उनले अगाडि भनेका छन् ।

१० लाखभन्दा माथिको बचत रकम उक्त सफ्टवेयरमा खातावालाको व्यक्तिगत विवरणमा पोष्टिङ नगरी सहकारीको इमेज सेभिङ खाता नम्बर ०६२२० मा पोष्टिङ गरी उक्त रकमलाई बासलातमा मिलाउने प्रयोजनको लागी संस्थाबाट ऋण लिई उक्त रकम फिर्ता नभएको खराब कर्जावालाको रकम फिर्ता भएको देखाएर हिसाब मिलान गरिएको स्वीकारेका छन्।

उक्त पोष्टिङ गर्ने काम संस्थाका अध्यक्ष नेपालीको निर्देशनमा लेखा प्रमुखरोका र आफुले गर्ने गरेको बताए । ‘२०७९ पुस २३ गतेपछि सुनिल नेपाली संयोजक, म र पूर्ण गुरुङ नेपाली (सुनिल नेपालीकी श्रीमती) सदस्य भएको तीन सदस्यीय ऋण समिति गठन भएको हो तर ऋण उपसमितिको बैठक बसी माईन्यूट भएको थिएन,’ उनले भनेका छन्, ‘संस्थाका अध्यक्ष देवकुमार नेपालीको निर्देशनका आधारमा ऋण प्रवाह गर्ने, निज देवकुमार नेपालीको निर्देशनमा हिसाब मिलानका लागि कृत्रिम व्यक्तिलाई ऋणी कायम गरी ऋण बनाउने काम मबाट भएको हो, उक्त हिसाबलाई सफ्टवेयरमा मिलाउने काम सुनिल नेपालीले गर्थे ।’

बासलातको सम्पत्तितर्फ ३० करोड जमिन भनेर देखाइएको रकमसमेत झुटो भएको र संस्थाको नाममा लालपुर्जालगायतको कुनै कागजात नभएको विषयमा आफूलाई जानकारी नभएको उनले बताए ।

‘२०८० जेठ ३ गते कार्यालयमा आफू बस्ने क्याबिनमा जाँदा क्याबिनको पछाडि ऋण फाइल, माइन्युटलगायतका महत्वपूर्ण कागजात राख्ने दराजको चाबीको लक फोडेको अवस्थामा देखेर कार्यालय सहयोगी भूमि भण्डारीलाई उक्त घटनाको बारेमा सोध्दा उनले संस्थाका अध्यक्ष देवकुमार नेपालीलगायत अन्य व्यक्ति जेठ २ गते राति करिब २:१५ बजे संस्थामा आएर आफूलाई मूल ढोकाको चाबी खोल्न लगाएको र केही समयपछि देवकुमार नेपाली, ओमकुमार नेपाली र डोरबहादुर परियारले तीन वटा फायल निलो सपिङ ब्यागमा राखेर लगेको देखेको हुँ भनि बताएपछि र दराज फोडेको भिडियो फुटेजमा समेत देखेपछि घटनाको बारेमा थाहा पाएको हुँ,’ उनले बयानको क्रममा भनेका छन् ।

उनले ठूला बचतकर्तालगायतका बचतकर्ताले बचत गरेको रकम उनीहरुको व्यक्तिगत खातामा रेकर्ड नराखी म्यानुअल रुपमा रजिष्टरमा रेकर्ड राखी सफ्टवेयरमा छुट्टै खाता नम्बर १०४०३-०१००-०६२२१ र १०४०३-०९००-०६२२० मा रकम जम्मा गरी उक्त रकम विभिन्न मितिमा कृत्रिम ऋणी खडा गरी निजहरुलाई ऋण प्रवाह गरेको देखाई हिसाब मिलान गरी अध्यक्ष देवकुमार नेपालीले व्यक्तिगत प्रयोजनको लागि उक्त वचत रकम प्रयोग गरी रकम हिनामिना भएको स्वीकारेका छन् ।

प्रबन्धक किसानले आफैंले अध्यक्षको मौखिक निर्देशनअनुसार बचतकर्ताहरुको बचत रकम सिस्टम तथा म्यानुअल रुपमा रजिष्ट्ररमा रेकर्ड राख्ने तथा उक्त वचत रकमलगायतका संस्था रकमलाई निजले भनेबमोजिमका संस्था तथा व्यक्तिहरुलाई पठाइदिने गरेको स्वीकारेका छन् ।

‘संस्थाको प्रबन्धक जस्तो जिम्मेवार पदमा रही सहकारीको मुल्य मान्यता, प्रचलित कानुनबमोजिम प्रशासनिक जिम्मेवारी पुरा नगरी संस्थाका अध्यक्षले लगाए अह्राएको कानुनविपरीतको कामसमेत गर्नु मेरो गल्ती भयो,’ उनले भने ।

‘नेपालीको निर्देशनमा अशोककुमार श्रेष्ठले राष्ट्रिय बैंकलाई ऋण भुक्तानी गरेको भनि इमेज सहकारीको सिस्टममा राष्ट्रिय सहकारी बैंकलाई तिर्नुपर्ने कर्जा रकम घटाइएको हुनाले समष्टिगत वित्तीय विवरणमा रहेको रकम र राष्ट्रिय सहकारी बैंकबाट आएको विवरणमा फरक परेको हो,’ उनले बयानका क्रममा भनेका छन् ।

यस्तै कर बापतको रकम भुक्तानी गर्नु पर्नेमा उक्त रकम समेत देव कुमार नेपालीको निर्देशनमा आफु र लेखा प्रमुख लालमति रोकाले कृत्रिम रुपमा खोलिएका खाता मार्फत कर छलि गरी आफुले नै प्रयोग गरेको दाबी गरेका छन् ।

उनले ठुलो ठुलो रकम नगदै लैजाने गर्ने, हिसाब मिलान समेत सहकारीको खाताबाट आफु र रोकाले गरेको जनाएका छन् ।

‘संस्थाका अध्यक्ष नेपाली, सञ्चालक सुनिल नेपालीसमेतको निर्देशनमा वित्तीय कारोवारबाट सृजना भएको मुनाफाको रकम समेतलाई प्रयोग गर्न कृत्रिम नाफा नोक्सान खाता गरिएको हो’ उनले भने ‘संस्थाका अध्यक्ष देवकुमार नेपालीले नगद रकम समेत हिनामिना भएकोले समष्टीगत प्रतिवेदनमा उल्लेखित रकम र भल्टमा रहेको नगदबीच रकम फरक परेको हो । बैंकमा रहेको वास्तविक मौज्दात रकमभन्दा बढी रकम बैंक मौज्दात रहेको विवरण देखाई उक्त रकमसमेत अध्यक्ष नेपालीले प्रयोग गरेका हुन् ।’

कर्जा बापतको रकम बिभिन्न व्यक्तिको नाममा कृत्रिम कर्जा तयार गरी रकम रकमान्तर गरी उक्त रकम नेपालीले हिनामिना गरेको उनको दाबी छ ।

‘नेपालीको निर्देशनमा आफुले बिभिन्न व्यक्तिको नाममा कृत्रिम कर्जा तयार गरेको हुँ र लालमति रोकाले हिसाव मिलान गरेकी हुन् । अध्यक्ष नेपालीले प्रयोग गर्ने सहकारीको खाताको सम्पत्ति बेचबिखन रकम प्राप्त गरेको भनि देखाइएको विवरण ठिक साँचो हो । इमेज सहकारी संस्था बागलुङको नाममा उक्त रकमबराबरको सम्पत्तिको लालपुर्जा छैन । उक्त रकमसमेत निज नेपालीले अपचलन गरेका हुन्,’ वयानमा भनिएको छ ।


सोभित थपलिया