नागढुंगा–सिस्नेखोला सुरुङमार्ग एक वर्ष भित्र सञ्चालनमा ल्याउँछौंः मन्त्री ज्वाला



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताएका छन् ।

मंगलबार उच्च अधिकारीसहितको टोली लिएर नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्न पुगेका मन्त्री ज्वालाले सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रु गर्न बाँकी रहेको भन्दै करिब एक वर्षभित्र यातायात सञ्चालन गर्नेगरी निर्माण कार्य अघि बढाएको जानकारी दिए ।

सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक रहेको भन्दै उनले समयमा नै निर्माण सम्पन्न हुने विश्वास गरे ।

‘अब जुन नागढुंगा सुरुङ मार्गको मुख्य टनेल छ । त्यसको ३५ मिटर मात्रै ब्रेक थ्र्रो हुन बाँकी छ । अर्को जुन आपतकालिन सुरुङ माग छ । करिव साढे चार सय जति बाँकी छ । चार महिनाभित्र मुख्य सुरुङ मार्गको ब्रेक थ्रो हुन्छ । आपतकालिन सुरुङ मार्ग छ त्यो थोरै समयमा नै हुन्छ । अब सुरुङ माग करिव एक वर्षभित्र सरकारले यातायात सञ्चालन गर्नेगरी निर्माण सम्पन्न गर्ने गरी लागि रहेका छौं’ उनले भने ।

संघीय राजधानी काठमाडौं जोड्नका निम्ति यो धेरै महत्वपूर्ण आयोजना भएको भन्दै मन्त्री ज्वालाले सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए ।

यो आयोजनाले नेपालको समृद्धिमा आर्थिक रुपमा ठूलो मद्दत पुर्‍याउने उनले बताए । जापानको जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको ७ अर्ब जति लगानी सुरुङमार्गमा रहेको उनले बताए ।

अहिले देख्दा खर्च बढी भएको देखिए पनि निकट भविष्यमा आयोजनाबाट धेरै ठूलो लाभ प्राप्त गर्न सकिने उनको भनाइ थियो ।

उनले निर्माण कार्य र ढिला गर्ने र गुणस्तर कम हुने कामलाई सरकारले कुनै छुट नदिने उल्लेख गर्नुभयो ।


क्लिकमान्डु