मालसामानमा आजदेखि बजार वितरकको ‘लेबल’ अनिवार्य



सांकेतिक तस्बिर

झापा । आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको ‘लेबल’ लगाउन आजदेखि अनिवार्य गरिएको छ ।

भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो नियम कार्यान्वयनमा ल्याएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

कुनै आयातकर्ता र बजार वितरकले नियम उल्लंघन गरी मालसामान बिक्री गरेको पाइए अनुगमन निकायले सामान तत्काल जफत गर्ने कानुनी व्यवस्थासमेत रहेको उनले बताए । विभागले सो प्रावधानका बारेमा सरोकारवाला सबैमा सूचना गरिसकेको बताइएको छ ।

विदेशी मालसामानको आयात गर्ने आयातकर्ता, बजार वितरक, उद्योग वाणिज्य संघ, स्थानीय तह, प्रशासनलगायत सरोकारवाला निकायलाई वाणिज्य विभागको नयाँ व्यवस्थासम्बन्धी जानकारी यसअघि नै गराइसकेको उनले बताए ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन (बजेट)को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा ४ मा साउन १ पछि आयात हुने सम्पूर्ण तयारी मालवस्तु बजारमा बिक्री-वितरणका लागि पठाउनुअघि प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने उल्लेख छ ।

आयातकर्ता एवं बजार वितरकले लेबल लगाएर पठाएको मालसामानको अभिलेख व्यवस्थित गरी राख्नुपर्ने र लेबलमा बार कोड, क्युआर कोड, सुरक्षा स्टिकरलगायतका आफ्नो पहिचान राख्न सक्ने पनि प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । आयातकर्ता र बजार वितरकले आफ्नो लेबल लगाउँदा नेपाली अथवा अंग्रेजी भाषा प्रयोग गर्नुपर्नेछ ।

आयातित मालसामान बिक्री-वितरणका लागि बजार पठाउनुअघि गरिने प्याकिङमा आयातकर्ता र बजार वितरकले आफ्नो नाम, ठेगाना, इमेल ठेगाना, वेबसाइट र आयात निर्यात (एक्जिम) कोड अनिवार्य उल्लेख हुनुपर्ने व्यवस्थाले उपभोक्ता हितको संरक्षणमा मद्दत पुर्‍याउने उनले बताए ।

आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूर्ण विवरणसहितको लेबल लगाइएको छ कि छैन भनेर वाणिज्य विभाग, गुणस्तर तथा नापतौल कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतले अनुगमन गर्नसक्ने व्यवस्था रहेको उनले जानकारी दिए ।


क्लिकमान्डु