निर्माण नसकिएका आयोजनाको म्याद थपका लागि २१ दिनभित्र निवेदन दिनुपर्ने



सांकेतिक तस्बिर

काठमाडौं । सरकारले निर्माण सम्पन्न हुन नसकेका आयोजनाको म्याद थप गर्ने भएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी म्याद थप गर्ने सक्ने व्यवस्था गरेको हो । सरकारले आयोजनाको पहिचान गरेर मात्रै म्याद थप गर्ने राजपत्रमा उल्लेख छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियमबमोजिम म्याद थप भई चालु रहेका वा म्याद सकिएका तर खरिद सम्झौताबमोजिमको काम चालू रहेका खरिद सम्झौतामा डिजाइन परिमार्जन भएको, बजेट अपुग भएको, निर्माण स्थलको उपलब्धता हुन नसकेको, समयमा भुक्तानी हुन नसकेको, निर्माण सामग्रीको अभाव भएको वा निर्माण स्थलमा प्राकृतिक विपत्ति परेको लगायतको कारणबाट तोकिएको अवधिभित्र सम्पन्न हुन नसकेका वा काम सम्पन्न हुन सक्ने अवस्था नदेखिएका खरिद सम्झौताको हकमा म्याद थप गर्ने कानुनी व्यवस्था नभई आयोजना सम्पन्न गर्न बाधा अड्काउ परेको राजपत्रमा उल्लेख छ ।

त्यस्तो आयोजनाको निर्माण व्यवसायी, आपूर्तिकर्ता वा परामर्शदाताले पेस गरेको कार्यतालिकाबमोजिमको कुन-कुन काम के–कस्तो कारणबाट हुन नसकेको हो त्यसको पुष्ट्याइँ र अवधि खुलाएर संशोधित कार्यतालिका र म्याद थप भएमा कुनै किसिमको आर्थिक दाबी नगर्ने प्रतिबद्धतासहित आदेश जारी भएको जनाइएको छ ।

राजपत्रमा सम्पूर्ण विवरण खुलाई २१ दिनभित्र म्याद थपको लागि निवेदन दिएमा सार्वजनिक निकायको प्रमुखले उक्त कार्य सम्पन्न गर्न लाग्ने वास्तविक थप अवधि यकिन गरी सार्वजनिक निकायलाई कुनै प्रकारको थप दायित्व नपर्ने गरी म्याद थप गर्न सक्ने जनाइएको छ ।

म्याद थप भएको जानकारी बोलपत्र स्वीकृत गर्ने पदाधिकारीलाई दिनुपर्ने र यसबमोजिम निवेदन पेस नभएको वा पेस भएको निवेदनका साथ पेस भएको आधार र कारण मनासिव नभएको खरिद सम्झौता सम्बन्धित पदाधिकारीले अन्त्य गरी सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम कारबाही गर्नुपर्ने गरी सरकारले सार्वजनिक खरिद ऐन २०६३ को दफा ७४ख बमोजिम बाधा अड्काउ फुकाउनका लागि आदेश जारी गरेको छ ।


क्लिकमान्डु