साढे ४ करोडको विद्यालय भवन बनाइदिएका दुर्गा प्रसाईंले भने- म दानवीर होइन



झापा । बी एन्सी सी अस्पतालका संस्थापक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मोहनमाया माध्यमिक विद्यालयका लागि १२ कोठे भवन निर्माण गरिदिएका छन् ।

प्रसाईंले साढे ४ करोड रुपैयाँ व्यक्तिगत खर्च गरेर १२ कोठासहितको तीन तले भवन निर्माण गरिदिएका हुन् । अध्ययनका लागि ११ कोठा र एउटा प्रशासनिक कार्यका लागि बनाइएको हो ।

सामुदायिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा बिहीबार प्रसाईंलाई भव्य अभिनन्दन गरिएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनले शिक्षा क्षेत्रको विकासका लागि सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए ।

आफूले एउटा नागरिकको कर्तव्य पूरा गरेको उनले बताए ।

‘मलाई दानवीर भन्नुभयो तर म दानवीर होइन, एउटा नागरिकको कर्तव्य पूरा गरेको हुँ,’ प्रसाईंले भने, ‘हामी कर्तव्यबाट विमुख हुनु हुँदैन ।’

बी एन्ड सी अस्पतालका लागि बिर्तामोडले नयाँ परिचय पाएको उनको भनाइ छ । ‘जसरी नेपाललाई सगरमाथाले चिनाएको छ, त्यसैगरी बी एन्ड सी अस्पतालले बिर्तामोडलाई नयाँ परिचय दिलाएको छ,’ उनले भने ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले विद्यालयमा अझै पनि भौतिक संरचनाको अभाव रहेको बताए । ‘हामीकहाँ यो वर्ष पनि करिब १२ सय ५० विद्यार्थी भर्ना हुन आएका थिए,’ उनले भने, ‘तर २ सय ५० भन्दा बढी विद्यार्थीलाई भौतिक संरचना अभावकै कारण भर्ना लिन सकेनौं ।’

२०६९ सालदेखि एसएलसी र एसईई परीक्षामा झापामै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण भइरहेको उनले दाबी गरे ।

२०२४ सालमा स्थापना भएको विद्यालयमा बिहानी र दिवा सत्रमा गरी ९२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । तर, ३३ जनालाई मात्र नेपाल सरकारले र बाँकी ५९ जनालाई स्थानीय अभिभावकले तलब भत्ता खुवाइरहेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।

मेडिकल व्यवसायी प्रसाईंसँग २ कोठा बनाइदिनका लागि आग्रह गर्दा १२ वटा कक्षाकोठा बनाइदिएर ठूलो सहयोग गरेको भन्दै उनले खुलेर प्रशंसा गरे ।

विद्यालयमा बिहानी सत्रमा ७ सय विद्यार्थी अध्ययन गर्छन् । विद्यालयमा व्यवस्थापन र विज्ञान विषयमा ११ तथा १२ र सिभिल इन्जिनियरिङ र हाइड्रोपावर विषयमा डिप्लोमा अध्ययन हुन्छ ।

दिवा सत्रमा कक्षा नर्सरीदेखि १० सम्म अध्ययन अध्यापन हुन्छ । दिवा सत्रमा १ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।

विद्यालयले सुस्त श्रवण भएका (बोल्न, सुन्न नसक्ने) विद्यार्थीका लागि स्रोत कक्षा पनि सञ्चालन गरिरहेको छ । स्रोत कक्षामा २० जना बहिरा विद्यार्थी अध्ययनरत छन् ।

व्यवसायी प्रसाईंले झापाको अर्जुनधारा नगरपालिकामा रहेको सिंहदेवी माविमा पनि अढाई करोड रुपैयाँ व्यक्तिगत लगानीमा विद्यालय भवन निर्माण गरिरहेका छन् ।


क्लिकमान्डु