मोतिलाल दुगडमाथि राष्ट्र बैंकले प्रश्न उठाएपछि ‘लक्ष्मी सनराइज बैंक’ले मर्जरको अन्तिम स्वीकृति पाउन ढिलाइ
काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडका कारण लक्ष्मी बैंक र सनराइज बैंक गाभिएर बन्न लागेको ‘लक्ष्मी सनराइज बैंक’ले मर्जरको अन्तिम स्वीकृति पाउन सकेको छैन । यही असार २४ गते एकीकृत कारोबार गर्ने तयारी गरिरहेको लक्ष्मी सनराइज बैंकले अहिलेसम्म नियामक नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति नपाएको हो ।
सनराइजका अध्यक्ष एवं मर्जपछि बन्ने लक्ष्मी सनराइज बैंकका सञ्चालक मोतिलाल दुगडको विषयमा राष्ट्र बैंकको सञ्चालक समितिमा प्रश्न उठेपछि अन्तिम स्वीकृति दिन ढिलाई भएको हो ।
यसैसाता बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा लक्ष्मी सनराइज बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिने प्रस्तााव पेश गरिएको थियो । तर, बहुमत सञ्चालकहरुले लक्ष्मी बैंकमा मोतिलाल दुगडको ३ अर्ब रुपैयाँको हाराहारीमा कर्जा रहको भन्दै उनी लक्ष्मी सनराइज बैंकको सञ्चालक बन्न अयोग्य बन्ने बताएपछि यस विषयमा नियमन विभागलाई सत्यतथ्य बुझेर सिफारिस गर्न भनिएको थियो ।
नियमन विभागले लक्ष्मी बैंकमा दुगडको मोटो रकम कर्जा देखिएको र राष्ट्र बैंकको नियमअनुसार सञ्चालकले ऋण लिन नपाउने प्रष्ट व्यवस्था रहेकाले दुगड लक्ष्मी सनराइज बैंकको सञ्चालक बन्न अयोग्य ठहरिने राय सञ्चालक समितिमा पेश गरिसकेको छ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली २०७ को चौथो संशोधन (२०७५) को परिच्छेद ४ को बुँदा नम्बर १३ छुट सम्बन्धी व्यवस्था गरिएको छ ।
बुँदा नम्बर १३ को ‘घ’मा ‘गाभिँदा वा प्राप्तिका कारण साविकमा प्रवाह भइसकेको कर्जा नियमित कर्जा रकम राष्ट्र बैंकको निर्देशन विपरित हुनसक्ने अवस्था सिर्जना हुन गएमा सो अवस्थालाई भुक्तानी अवधि वा ३ वर्ष जुन अघि हुन्छ सो सम्मको समयावधिमा नियमित गर्न पाइने’ भनिएको छ । सेयरधनीका हकमा यो छुट व्यवस्था लागू भए पनि सञ्चालकमा हकमा यो छुट लागू नहुने राष्ट्र बैंकका नियमन विभागका एक निर्देशकले जानकारी दिए ।
‘सेयरधनीलाई दिएको छुट सुविधा सञ्चालकलाई दिन सकिँदैन,’ ती निर्देशकले भने, ‘हामीले व्यवस्थापन (गभर्नर, डेपुटी गभर्नर)लाई पनि यही ब्रिफिङ गरेका छौं र चासो राख्ने सञ्चालकज्यूहरुलाई पनि यही भनेका छौं ।’
मोतिलालसँग ३ अर्ब ऋण भएकाले उनी लक्ष्मी सनराइज बैंकको सञ्चालक बन्दा स्वार्थ बाझिने र व्यवस्थापनलाई हस्तक्षेप गर्नसक्ने भएकाले यस्तो गर्नु परेको हो ।
‘दुगडजी लक्ष्मी सनराइजको सञ्चालक बन्न चाहनुहुन्छ भने कर्जा चुक्ता गर्नु पर्यो, कर्जा चुक्ता गर्नुहुन्न भने सञ्चालक बन्न अयोग्य हुनुभयो भन्ने कुरा हो,’ एक सञ्चालकले भने, ‘व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गभर्नरसा’ब सञ्चालक समितिको पनि अध्यक्ष हुनुहुन्छ, उहाँले पेलेर निर्णय गर्नुभयो भने त हाम्रो के लाग्छ र ?’
त्यसो त, सनराइज बैंकको सञ्चालक समितिको बहुमतले मर्जपछि बन्ने बैंकको सञ्चालकमा पनि मोतिलाललाई नै पठाउने निर्णय गरेपछि यो विषयले गंभीर मोड लिएको हो । सनराइजको सञ्चालक समितिमा अध्यक्ष दुगडको बहुमत छ । लक्ष्मी सनराइज बैंकमा दुगड सञ्चालक बन्न नपाउने भन्दै सनराइजकै अल्पमतमा रहेका असन्तुष्ट सञ्चालकले राष्ट्र बैंकमा उजुरी दिएपछि यो विषय थप जटिल बनेको हो ।
‘प्रस्तावित कुनैपनि सञ्चालकहरुको बारेमा विवाद छैन तर मोतिलालजीको विषयमा लक्ष्मी बैंकबाट ऋण लिएको मात्रै होइन, भारतमा बैंक ठगेर कालोसूचीमा परेको दुगडका बाउछोराको निजी कम्पनी विवेक अटोमोवाइल्सले महालक्ष्मी विकास बैंकको ५० लाख ऋण नतिरेपछि कम्पनीको बैंक खाता रोक्का गरी कालोसूचिमा राख्न कर्जा सूचना केन्द्रलाई पत्राचार गरेको विषयहरु पनि आएका छन्,’ राष्ट्र बैंकका एक सञ्चालकले भने, ‘यस विषयमा नियमन र सुपरिभिजन विभागले बुझेर सञ्चालक समितिलाई सत्यतथ्य जानकारी गराउनू भनेका छौं, उहाँहरुले गभर्नरसाबलाई सो बारे जानकारी गराइसकेका छौं भन्नुभएको छ, अब बस्ने सञ्चालक समितिमा कुरा होला ।’
गभर्नर अधिकारी सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था एशिया प्यासिफक समूहको सभामा भाग लिन यही शनिबार क्यानडा जाँदैछन् । त्यसैले आज वा भोलि (बिहीबार वा शुक्रबार) राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले लक्ष्मी सनराइज बैंकको अन्तिम स्वीकृति दिने प्रवल संभावना छ ।
आगामी असार मसान्तभित्र एकीकृत कारोबार गरेको खण्डमा मात्रै राष्ट्र बैंकले दिएका अन्य छुट सुविधाको उपयोग गर्न पाइने कानूनी व्यवस्था भएका कारण आज र भोलिमै राष्ट्र बैंकले अन्तिम स्वीकृति दिने राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।
‘कथमकदाचित आज र भोलिमा अन्तिम स्वीकृति नदिएको अवस्थामा कार्यवाहक गभर्नरको अध्यक्षतामा बैठक बसेर आइतबार वा सोमबार अन्तिम स्वीकृति दिन्छौं’ ती अधिकारीले भने, ‘उहाँहरुलाई एकीकृत कारोबारको तयारी गर्नू भनिसकेका छौं ।’
नयाँ बन्ने बैंकमा लक्ष्मी बैंकका तर्फबाट रमन नेपाल, सञ्चालकद्धय मनिस थापा र स्वाती रुंगटालाई सञ्चालक प्रस्ताव गरिएको छ भने सनराइज बैंकका तर्फबाट मोतिलाल दुगड, सञ्चालकद्धय बच्चराज टेडार र मालचन्द्र दुगडलाई सञ्चालक प्रस्ताव गरिएको छ । साथै विद्या बस्याललाई स्वतन्त्र सञ्चालक प्रस्ताव गरिएको छ ।
‘राष्ट्र बैंकले हस्तक्षेप गरेर दुगडलाई अहिले नै सञ्चालक बन्न नदिन पनि सक्छ तर मर्जरको अनितम समयमा विवाद नआओस् भनेर यतिकै पनि एकीकृत कारोबारको स्वीकृति दिने र त्यसपछि कानूनी प्रक्रिया अघि बढाएर दुगडलाई बर्खास्त गर्न पनि सक्छ,’ स्रोतले भन्यो, ‘हेरौं गभर्नरसाबले कस्तो निर्णय लिनुहुन्छ ।’
एउटा मात्रै नाम राख्न राष्ट्र बैंकको सुझाव, सञ्चालकहरु मानेनन्
राष्ट्र बैंकले लक्ष्मी वा सनराइजमध्ये एउटा मात्रै बैंकको नाम राखेर एकीकृत कारोबार गर्न दुबै बैंकको सञ्चालक समितिलाई सुझाएको छ । राष्ट्र बैंकको सञ्चालक समितिमा दुईवटा बैंकको नाम राखेर जाँदा बैंकको ४ करोड बढी खर्च हुने भन्दै सकेसम्म एउटा मात्रै बैंकको नाममा एकीकृत कारोबार गर्ने व्यवस्था मिलाउन भनेको थियो ।
सञ्चालक समितिको आदेशअनुसार नियमन विभागले दुबै बैंकका सञ्चालकहरुसँग बसेर छलफल पनि गर्यो । तर, दुबै बैंकका सञ्चालक आफ्नो नाम गुमाउन तयार देखिएका छैनन् ।
‘हामीले दुबै बैंकका सञ्चालकहरुलाई बोलाएर लक्ष्मी वा सनराइज एउटा नाममा एकीकृत कारोबार गर्न सुझाएका थियौं, अहिलेसम्म उहाँहरुले मान्नुभएको छैन,’ स्रोतले भन्यो, ‘यद्यपि हामी सकेसम्म मिलाउने प्रयास गरिरहेका छौं, उहाँहरुले मान्दै मान्नुभएन भने लक्ष्मी सनराइज बैंककै नाममा एकीकृत कारोबार गर्न स्वीकृति दिन्छौं ।’
०७९ पुस २५ गते लक्ष्मी र सनराइज बैंकबीच १ बराबर १ को बराबरी हैसियतको सेयर आदानप्रदान रेसियोमा आपसमा गाभिने सैद्दान्तिक समझदारी गरेका थिए । गाभिने सम्झौतापत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका थिए।
त्यसबेलै मर्जपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज राख्ने समझदारी भएको थियो ।
पछिल्लो वित्तीय विवरण अनुसार लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ। एकीकृत कारोबारपछि बैंकको निक्षेप झन्डै ३ खर्ब पुग्ने छ भने कर्जा अढाई खर्ब रुपैयाँभन्दा बढी हुनेछ ।
मर्जपछि बन्ने बैंकको सीइओ अहिलेका लक्ष्मी बैंकका अजयबिक्रम शाह हुनेछन् भने तत्काल अन्तरिम सञ्चालक समितिले अध्यक्ष चयन गर्ने समझदारी भएको छ ।