सिक्टा सिँचाइका लागि जग्गा अधिग्रहण गरिँदै, १५ दिनभित्र मुआब्जाका लागि निवेदन दिन सकिने
काठमाडौं । बाँकेस्थित सिक्टा सिँचाइ आयोजनाका लागि जग्गा अधिग्रहण गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना प्रकाशित गर्दै आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पर्ने प्रसेनीपुर शाखा र अकलघरवा शाखामा पर्ने जग्गा तथा पूर्वीमूल नहरको बैजापुर (एस वान) शाखामा पर्ने जग्गा अधिग्रहण गरिने जनाएको छ ।
कार्यालयले अधिग्रहण गरिने जग्गाहरुको प्रारम्भिक अधिकृतले पेस गरेको प्रतिवेदनबमोजिम जग्गाहरु प्राप्ति गरिने जनाएको छ ।
कार्यालयले अधिग्रहण गरिनका लागि प्रराम्भिक कारवाहीको प्रतिवेदनमा परेका जग्गाहरुका सम्बन्धित जग्गाधनी वा निजको अख्तियार प्राप्त ऐनबमोजिमको वारेसले जग्गाधर्नी दर्ता प्रमाण पत्र, मालपोत तिरेको रसिद साथै नागरिकताको प्रमाणपत्रको सक्कल र एक एक प्रति नक्कल समेत राखी १५ दिनभित्र आयोजनाको कार्यालयमा मुआब्जा दाबी गर्न निवेदन दिन भनेको छ ।
अघिग्रहण हुने जग्गामा घर गोठ, पर्खाल वा अरु कुनै संरचना वा बोटविरुवा भएमा त्यसलाई पनि मुआब्जा दाबी गर्दा खुलाउनु पर्ने र त्यस्ता संरचनाहरु अधिकतम एक महिनासम्ममा खाली गरिनुपर्ने समेत कार्यालयले जनाएको छ ।