देशभरमा ५ सडक अवरुद्ध
काठमाडौं । देशभरमा परिरहेको झरी तथा पहिरोलगायतका कारण विभिन्न स्थानमा सडक अवरुद्ध बनेका छन् ।
सडक विभागको ‘सडक अवस्था रिपोर्टिङ प्रणाली’का अनुसार देशभरमा ५ सडकहरु पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।
पूर्ण रुपमा अवरुद्ध रहेका सडकहरुमा मेची राजमार्गअन्तर्गत हेवाखोला पाँचथर क्षेत्रको सडक, तमोर कोरिडोरअन्तर्गत माझिटार हेवाखोलाअन्तर्गतको सडकखण्ड, कोशी राजमार्गअन्तर्गत संखुवासभाको हाइटार क्षेत्रको सडक, तानसेन–रिडी–कोरला राजमार्गअन्तर्गत म्याग्दीको नैनिबगरस्थित तातोपानी खण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेको विभागको प्रणालीमा उल्लेख गरिएको छ ।
विभागकाअनुसार शनिबार साँझबाट नारायणगढ–मुग्लि सडकखण्ड अवरुद्ध भउको हो ।
त्यसअघि नै लगातार २८ घण्टासम्म अवरुद्ध रहेको सडकलाई शनिबार सााझबाट सञ्चालनमा आउने गरि पहिरो हटाइएको थियो । तर, शनिबार राती ११ बजेबाट पुनः पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
विभागकाअनुसार २ लोडर र एक एस्काभेटरले पहिरो हटाउने प्रयास गरिरहेका छन् । तर, ढुंगा खसिरहने समस्या भएका कारण पहिरो हटाउनमा समस्या भइरहेको अवस्था रहेको विभागले जनाएको छ ।
त्यस्तै, शनिबारबाट नै अवरुद्ध रहेको तानसेन–रिडी–कोरला राजमार्गअन्तर्गतको म्याग्दी नैनिबगरस्थित तातोपानी सडकखण्डमा अवरुद्ध रहेको सडकलाई १ लोडस मेसिनको प्रयोग गरेर सुचारु गर्ने प्रयास भइरहेको छ ।
कोशी राजमार्गअन्तर्गत संखुवासभाको हाइटार खण्डमा अवरुद्ध रहेको सडकलाई सुचारु गर्नका लागि विभिन्न उपकरणको व्यवस्थापन सम्बन्धि कार्यमा तीव्रता दिइएको विभागले जनाएको छ ।