भगवति हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ ल्याउने, प्रतिकित्ता कति ?
काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । त्यसपछि सर्वसाधारणलाई निष्कासन गर्ने छ ।
कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँबाट ५ करोड ७२ लाख ६ हजार रुपैयाँको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयका लागि निष्कासन गरेको छ ।
आयोजना प्रभावित कास्की जिल्लाको पोखरा महानगरपालिका–१३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८५ हजार ८१० कित्ता सेयरमा निष्कासन गरिने छ । आयोजना प्रभावित स्थानीयले सिद्धार्थ, कामना सेवा विकास बैंक र कुमारी बैंकका स्थानीय शाखाबाट आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । स्थानीयले आईपीओमा जेठ ७ गतेसम्म आवेदन दिन सकिक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ ७ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।