महानगरले भाडामा लिएको काठमाडौं प्लाजामा रहेका रेष्टुरेन्ट र दोहोरी साँझ ७ दिनभित्र खाली गर्न सूचना
काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यालय प्रयोजनका लागि भाडामा लिएको काठमाडौं प्लाजामा रहेका होटललगायतलाई ७ दिनभित्र घर खाली गर्न नेपाल ट्रस्टको कार्यालयले सूचना निकालेको छ ।
नेपाल ट्रस्टको कार्यालयले काठमाडौं प्लाजा भवनमा तत्कालनीन अवस्थामा सञ्चालनमा रहेको राजघराना गजल रेस्टुरेन्ट एण्ड पार्टी भेन्यु प्रालि र निरमाया दोहोरी साँझ प्रालिका नाममा घर खाली गर्न सूचना निकालेको हो ।
काठमाडौं प्लाजा भवनको माथिल्लो तलामा तत्कालीन अवस्थामा सञ्चालनमा रहेको राजघराना र निरमायाको कोठा २०७८ वैशाख २ गतेबाट नै शिलबन्दी अवस्थामा रहेका थिए ।
जसकारण नेपाल ट्रस्टको कार्यालयले गत वैशाख ४ गते वडा कार्यालयका प्रतिनिधि, प्रहरी र सञ्चालकहरु समेतको रोहवरमा ताला खोली सामानहरु जे जस्तो अवस्थामा छ, सोही अवस्थामा सामान बुझिलिई भरपाई गरिएको र त्यसको मुचुक्ला तयार भइसके पनि स्थान खाली गरिएको छैन । जसकारण नेपाल ट्रस्टको कार्यालयले सूचना निकाल्दै ७ दिन भित्र घरखाली गर्न भनेको हो ।
काठमाडौं महानगरपालिकाले सबै कामकारबाही काठमाडौं प्लाजाबाट सञ्चालन गर्ने गरि यसलाई भाडामा लिएको थियो । तर, बैंकले यी दुवै रेस्टुरेन्ट तथा दोहोरि साँझमा ताला लगाएका कारण महानगरका मेयर तथा उपमेयरको सचिवालय तथा कार्यालय सर्ने वातावरण बनेको थिएन ।
घरखाली गर्न ट्रस्टले सूचना निकालेसँग अब केही समयमा महानगरको सम्पूर्ण कार्यालय काठमाडौं प्लाजामा सर्ने छ । सात दिनभित्र घर खाली नगरिए कानुनअनुसार आफैंले घर खाली गराउने जनाएको छ ।