आगामी तीन वर्षभित्र काठमाडौं-निजगढ दू्रतमार्ग निर्माण सम्पन्न हुन्छः मन्त्री ज्वाला



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौं(निजगढ दू्रतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो प्रतिवद्धता व्यक्त गरे । मन्त्री ज्वालाले सो द्य्रुत्मार्गको निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २२ अर्व रुपैयाँ बजेट व्यवस्था गरिएको पनि बताए ।

उनले मन्त्रालयको बजेट चालू आर्थिक वर्षको भन्दा करिव ३७ अर्व रुपैयाँ घटेकाले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको स्पष्टिकरण समेत दिए ।

मन्त्री ज्वालाले सो द्रूतमार्गको निर्माण कार्यलाई नेपाली सेनाले तीव्रताका साथ अघि बढाएको पनि संसदलाई जानकारी गराए ।

उनको भनाइ जस्ताको त्यस्तै

भौतिक पूर्वाधार मन्त्रालयको बजेटको बाँडफाँड असन्तुलित भएको सम्बन्धमा पनि केही जिज्ञासाहरु उठेका छन । हाम्रो मन्त्रालयको बजेट सिलिङ चालू आर्थिक वर्षको भन्दा करिव ३७ अर्व घटाइएकाले बजेट बनाउन र सन्तुलन कायम गर्न निकै कठिनाई भएको यथार्थताबारे माननीयज्यूहरु जानकार हुनुहुन्छ । समय र बजेट कटौतिको चापले सोचेजस्तो सन्तुलन र सबैलाई सम्बोधन गर्न नसकेकोमा दुःख लागेको छ । सकेसम्म सन्तुलन कायम गर्न खोजिएको अनुरोध गर्न चाहन्छु । नेपाल सरकारको निर्णय अनुसार काठमाडांै–निजगढ दू्रतमार्गको निर्माण कार्य नेपाली सेनाद्धारा दू्रतगतिमा अघि बढिरहेको छ । अवको निर्धारित समयमा निर्माण कार्य सक्नका लागि आगामी आर्थिक वर्षमा २२ अर्व बजेट विनियोजन पनि गरिएको छ । २०८३ साल भित्र निर्माण कार्य सम्पन्न गरी यातायात संचालन गरिने कुरा यो सदनलाई म जानकारी गराउन चाहन्छु ।


क्लिकमान्डु