जलहरीबारे अनुसन्धानका लागि पशुपतिमा अख्तियार, खाली गराइयो मन्दिर परिसर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको मुल मन्दिरमा राखिएको जलहरीको अनुसन्धानका लागि पशुपति जाने भएपछि मन्दिर खाली गराइएको छ । आइतबार दिउँसो अख्तियारको टोली पशुपति मन्दिर परिसरमा सुनको जलहरीको विषयमा अनुसन्धानका लागि पुगेको हो ।

अख्तियारका अनुसार जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै परेको उजुरीको आधारमा टोली अनुसन्धानका लागि गएको हो । टोलीले मन्दिरमा राखिएको सुनको जलहरीको तौल लिने र कम भए नभएको भन्दै चेक गर्ने बताइएको छ ।

जेठ १२ गते संसदमा नै जलहरी राख्दा भ्रष्टाचार भएको भन्ने विषय चर्चामा आएको थियो, जसले संसदमा हंगामा नै सिर्जना गरेको थियो । संसदमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा पशुपतिमा सुनको जलहरीको सट्टा पित्तल लगाएर भ्रष्टाचार भएको भन्ने आरोप लगाएका थिए ।

यसअघि महालेखा परिक्षकको कार्यालयले प्रतिवेदनले पनि गत वर्ष जलहरी राख्दा भ्रष्टाचार भएको हुनसक्ने शंका गरेको थियो । महालेखाको ५९ औं वार्षिक प्रतिवेदनले जलहरी राख्दा भ्रष्टाचार भएको हुन सक्ने भन्दै प्रश्न उठाएको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलिले २०७७ मा पशुपति दर्शनमा जाँदा मन्दिरभित्र सुनको जलहरी राख्ने घोषणा गरेबमोजिम पशुपतिमा १०३ केजि ७७३ ग्राम सुनको जलहरी निर्माण गरिएको भनिएको छ, जसको लागत ८० करोड ११ हजार रुपैयाँ तिरेर नेपाल राष्ट्र बैंकबाट किनिएको भनिएको छ ।

अख्तियारमा यो विषयमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि आइतबार अख्तियारको टोली पशुपति पुगेको हो ।


क्लिकमान्डु