इन्जिनियरिङ सर्भेविना सडक खन्ने काम सरकारले तत्काल बन्द गर्नु पर्छः सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् ।

सांसद खतिवडाले पहाडी जिल्लाहरुमा इन्जिनियरिङ सर्भेविना सडक निर्माणको काम हुँदा वृहत रुपमा पहिरो जानेक्रम बढेर गएकाले त्यस्ता कामलाई सरकारले तत्काल बन्द गर्नुपर्ने बताएका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले डोजर ड्राईभर आफैं इन्जिनियर बनेर सडक खन्ने काम गर्दा त्यहाँ पहिरो जाने क्रम बढेर गएकाले त्यसलाई रोक्न सरकारले ध्यान दिनुपर्ने बताए ।

सांसद खतिवडाले वर्षात्कै कारण पहिरोको जोखिममा परेका ओखलढुंगा बिलन्दुका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सोही पहिरोले बगाउँदा सो गाउँका रणबहादुर गुरुङ र उनका परिवारका अन्य ३ जना सदस्यको ज्यान गएको छ । सो घटनाका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै सांसद खतिवडाले सो ठाउँमा उचित राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

सांसद खतिवडाले वर्षात् सुरु भएपछि सडक खन्ने र पूर्ने काम नगर्न पनि सरकारसँग आग्रह गरे ।


क्लिकमान्डु