संघीय सरकारले भन्दा धेरै सुरुङ मार्गको अध्ययन गर्दै गण्डकी प्रदेश



काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दा विगतमा सम्भाव्यता अध्ययन भएका सुरुङ मार्गको विषयलाई निरन्तरता दिएको थिएन ।

सरकारले आगामी वर्षको बजेटमा टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गर्ने र सिद्धबाबा सुरङ मार्ग निर्माण कार्यलाई तिब्रता दिने उल्लेख गरेको थियो ।

टोखा–छहरे सुरुङ मार्गको विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन १ अर्ब बजेट बिनियोजन गरिएको सरकारले उल्लेख गरेको थियो ।

संघीय सरकारले सुरुङ मार्गको विषयलाई लिएर यसपटक बजेट घटाएको छ । तर, गण्डकी प्रदेश सरकारले भने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा सुरुङ मार्गको विषयलाई संघीय सरकारलेभन्दा धेरै समेटेको छ ।

गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटमा विभिन्न क्षेत्रमा ५ वटा सुरुङ मार्गको निर्माणका लागि सम्भाव्यता अध्ययनको विषयलाई समेटेको छ ।

गण्डकी प्रदेश सरकारले यी सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि आवश्यक बजेट बिनियोजन गरेको उल्लेख गरेको छ । संघीय सरकारको भन्दा धेरै सुरुङ मार्गको निर्माणको उद्देश्य लिएर सम्भाव्यता अध्ययनको काम सुरु गर्ने गण्डकी प्रदेश सरकारको योजनाका अति महत्वकांक्षी पनि देखिएको छ ।

गण्डकी प्रदेश सरकारले तनहुँको भिमाददेखि नवलपुरको डेढगाँउ र नवलपुरको डेढगाँउ–झ्यालबास खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन आगामी वर्षमा गर्ने बजेटमा उल्लेख गरेको छ ।

त्यसैगरी, बागलुङ्गको कोठेखोलादेखि गलकोटको नरेठाँटीसम्म पनि सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।

म्याग्दीको दानादेखी मुस्ताङको घाँसासम्म र लमजुङको शीतलपाटीदेखि नाम्लाफेदीसम्म सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य आगामी आव २०८०/०८१ सुरु गर्ने गण्डकी प्रदेश सरकारले उल्लेख गरेको छ ।


क्लिकमान्डु