स्वास्थ्य बीमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाउन सकिनँः मन्त्री बस्नेत



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन् ।

आइतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधारको आवश्यकता देखिएको बताए । उनले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने की निजीले पनि पाउने भन्ने लडाईं चलिरहेको बताए ।

उनले निजी अस्पतालहरुले स्वास्थ्य बीमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको समेत बताए । उनले निजी क्षेत्रहरुले पनि स्वास्थ्य मापदण्डहरु पूरा नगरेको भन्दै सधैँका लागि बन्द गरिदिने चेतावनी दिएपछि निजी क्षेत्र शान्त भएको बताए । उनले स्वास्थ्य बीमा प्रभावकारी बनाउन आफूले स्वास्थ्य र बीमा दुवै बुझेको व्यक्ति खोजेपनि पाउन नसकेको बताए ।

उनले भने, ‘स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेको छैन । यो बीमा सञ्चालन गर्ने ठाउँमा महत्वपूर्ण व्यक्तिहरु मैले स्वास्थ्य र बीमा दुवै बुझेको मानिस खोजिरहेको छु, त्यो पाइरहेको छैन, की स्वास्थ्य बुझेको पाइन्छ की बीमा, दुवै बुझेको मान्छे पाउन सकेको छैन । स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधार गर्नुपर्नेछ । नीतिगत रुपमा नै हामी अघि बढ्नुपर्छ । यहाँ त स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने की निजीले पनि पाउने भन्ने लडाईं रहेछ । निजी मेडिकल कलेजका प्रतिनिधिले हामीले नपाउने भए अस्पताल बन्द गर्छौं भन्नुभयो, मैले मापदण्ड पुगेको छैन, त्यसका टेकेर हान्नुपर्दा सधैँका लागि बन्द हुन्छ भने । त्यसैले कतै पाउँदै नपाएको कतै पाउने भन्दा बढी सुविधा पाएको बेथितिहरु छन्, त्यसका लागि हामीले कार्ययोजना बनाएर अघि बढेका छौँ ।’


क्लिकमान्डु