६ प्रतिशत वृद्धिदर सम्भव छैनः उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका हुन् । उनले बजेट संविधानले परिकल्पना गरे अनुरुपको समाजवादउन्मुख नभएको बताए ।
उनले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको बताए । बजेटले लक्ष्य अनुरुपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताए ।
‘बजेट समाजवादउन्मुख छँदै छैन । बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित रहेको छ । यस किसिमको बजेटले समाजवादउन्मुख बाटो पक्रन सक्दैन । समाजवादउन्मुख होइन समाजवाद विमुख बजेट रहेको छ’ उनले भने, ‘आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत हासिल गर्ने भनिएको छ । तर यो बजेटबाट ६ प्रतिशत वृद्धिदर हासिल गर्न असम्भव छ । यही तरिकाले अगाडी बढ्ने हो भने २०२६ सम्ममा विकासशिल मुलुकमा स्तरोन्नति हुन पनि सम्भव छैन ।’
सरकारसँग भ्रष्टाचारलाई नियन्त्रण गर्ने कुनै कन्ट्रोल प्लान नभएको बताए । कुरा गरेर भ्रष्टाचार नियन्त्रण नहुने उनले बताए ।
‘भ्रष्टाचार के गरी नियन्त्रण हुन्छ ? कसरी नियन्त्रण गर्ने हो ? त्यस विषयमा अध्ययन गरेर एक्शनप्लान अगाडि आउन आवश्यक छ । बजेट निर्माणमा अर्थमन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी देखिन्छ’ उनले भने ।
बजेट भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्नेगरी आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताए ।
अध्यक्ष यादवले बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको बताए ।