नेपालमा मल कारखाना स्थापनाका लागि भारतले सहयोग गर्ने



काठमाडौं । नेपालमा मल कारखाना स्थापनाका लागि भारतले सहयोग गर्ने भएको छ ।

४ दिने औपचारिक भ्रमणका लागि भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भेटवार्तापछि आयोजित संयुक्त पत्रकारसम्मेलनमा मोदीले नेपालमा मल कारखाना बनाउनका लागि आपसी सहयोगमा सहमति भएको बताए ।

‘पेट्रोलियम पाइपलाइनको सकारात्मक प्रभावलाई देख्दै चितवनसम्म लैजाने निर्णय लिइएको छ । सिलगुढीबाट पूर्वी नेपालमा पनि पाइपलाइन बनाइनेछ । चितवन र झापामा नयाँ स्टोरेज टर्मिनल पनि लगाइने छ। नेपालमा एउटा मल कारखाना बनाउनका लागि पनि आपसी सहयोगमा हाम्रो सहमति भएको छ’ मोदीले भने ।

भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो र धेरै बलियो रहेको भन्दै मोदीले यो सुन्दर कडिलाई थप बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्ड र आफूले रामायण सर्किटसँग सम्बन्धित परियोजनाहरुमा तीव्रता ल्याउने सहमति गरेको बताए ।

‘हामी हाम्रो सम्बन्धलाई हिमालयजस्तो उचाई दिन काम गर्दै रहनेछौं । र यहि भावनाले हामी सबै मुद्दा, चाहे सीमानाको होस् वा अरु विषय होस, सबैको समाधान गर्नेछौं’ भारतीय प्रधानमन्त्री मोदीले भने ।


क्लिकमान्डु