कृषिमा अनुदान कति बाँडियो र पाउने भाग्यमानी किसान को-को हुन्, सूची सार्वजनिक हुनुपर्यो: लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले पाँच वर्षको अवधिमा कृषि क्षेत्रमा अनुदानको नाममा कति रकम कसलाई बाँडियो भन्ने सार्वजनिक गर्न माग गरेका छन् ।
सरकारले संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सोमबार भाग लिँदै सांसद लिङ्देनले पाँच वर्षको अवधिमा ७ वटा प्रदेश र केन्द्र सरकारले कृषिमा कति अनुदान कसलाई बाँड्यो होला भन्दै प्रश्न गरेका हुन् ।
‘यो पाँच वर्षमा सातवटा प्रदेश र केन्द्रमा गरेर कति पैसा कृषि अनुदानको नाममा बाँडियो होला ? र त्यो कसकसलाई बाँडियो होला ?’ लिङ्देनले भने, ‘स्वेतपत्र जारी गरिने छ, भनेर सरकारले नीति तथा कार्य्रममा ल्यायो भने पो फरक आयो भयो भन्न मिल्छ ।’
उनले अनुदानको रकम र पाउने भाग्यमानी कृषकको सूची सार्वजनिक गर्न माग गरे ।
‘गएको पाँच वर्षमा यो कृषि अनुदानको नाममा सात प्रदेश र केन्द्रले वितरण गरेको कृषि अनुदानको रकम अंकमा कति हो र ति पाउने भाग्यमानी कृषकहरु कोको हुन् त्यो सूची सार्वजनिक गर्नु पर्यो, अनुदानका नाममा कति बाँड्यौ र प्रतिफल कति प्राप्त भयो सूची सार्वजनिक गर्न आट गर्नु पर्यो’ उनले भने ।
अध्यक्ष लिङ्देनले नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी समाधान गरेर अघि बढ्छौं भन्ने कुरा आउनु पर्ने भए पनि त्यसो नभएको बताए । समस्या पहिचान गर्न नसकेको, प्राथमिकता प्रस्ट पार्न नसकेकाले यसलाई पुनर्लेखन गर्नुपर्ने उनको भनाइ छ ।
‘हामीले ल्यायौं, बहुमत छ, ताली ठटाएर पास गर्छौं भन्न पाउनु हुन्छ’ लिङ्देनले भने, ‘यो देश तपाईंको मात्र होइन, देश सरकारमा बस्नेको मात्र होइन, देश बिग्रिँदाखेरी तपाईंको मात्र बिग्रिँदैन सरकारमा बस्नेको मात्र बिग्रिँदैन, हाम्रो भावी सन्ततीहरुको, युवाहरुको आउने पुस्ताको बिग्रिन्छ । नमिलेको विषय फेरि लेखर ल्याउँदा केही बिग्रिदैन यसलाई पुनर्लेखन गर्न आवश्यक छ ।’
हरेकसाल जस्तै यो पाली केही पाना थप्नु बाहेक नीति तथा कार्यक्रममा केही नआएको उनको भनाइ छ ।