समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको जानकारी दिएका हुन् ।

यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको उनले बताए । सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको प्रधानमन्त्रीले जानकारी दिए ।

‘सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन, रासायनिक मलमा अनुदान दिनुकोसाथै भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु । यस वर्ष समयमै मल, बीउ उपलब्ध गराउन मैले बेलैमा कृषि मन्त्रालय लगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको छु । र कृषि मन्त्रालयबाट यस सम्बन्धी कार्य अगाडी बढी पनि सकेको छ । यस वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरुको हीतलाई अनि उत्पादन र रोजगारी सृष्टिको कुरालाई उच्च प्राथमिकता दिइने कुरा पनि म जानकारी गराउन चाहन्छु’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरुको हितलाई उच्च प्राथमिकता दिइने बताए । त्यस्तै उत्पादन र रोजगारी सृष्टिको कुरालाई पनि उच्च प्राथमिकता दिइने उनको भनाइ छ ।


क्लिकमान्डु