अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल



काठमाडौं । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।

आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अन्नपूर्ण केवलकार नेपालमा सञ्चालित केवलकारमध्ये हिम शृंखलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केवलकार हो । २०७८ फागुन ६ देखि सञ्चालनमा आएको केबलकारले कम्पनीको जारी पुँजी १ अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई समेत बिक्री गर्न लागेको हो ।

केवलकारमा जनताको सहभागिता बढाउन २० प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्नेछ ।

आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको जानकारी गुरुङले दिए । पोखरा महानगरपालिका-१८ स्थित सेदीबगरस्थित अन्नपूर्ण केवलकारको बटम स्टेसन निर्माण गरिएको छ ।

जसको निर्माण लागत १ अर्ब ९७ करोड रुपैयाँ लागेको कम्पनीले जनाएको छ । जसमा कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए । केवलकार निर्माणको लागि कम्पनीले बैंकसँग १ अर्ब ७ करोड रुपैयाँ ऋण लिएको थियो ।

केवलकारको माथिल्लो स्टेसन सराङकोटमा अहिले पञ्चमुखे गणेशको मूर्ति निर्माण भइरहेको छ । मूर्ति ४८ फिट अग्लो र ४४ फिट चौडाइ छ । यो मूर्ति विश्वकै ठूलोमध्येको एक हो ।

यसबाहेक भ्यु टावर, मूर्तिसहित अन्य संरचना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । केवलकार चढेर सराङकोटबाट सूर्योदय, सूर्यास्त तथा हिमालको दृश्य हेर्न सकिन्छ ।

२०७८ फागुनदेखि सञ्चालनमा आएको केवलकारमा क्याबिनसहित १८ वटा गोन्डोला छन् । केवलकारको सुरुको स्टेसनदेखि अन्तिमसम्म १३ वटा टावर छन् । एउटा गोन्डोलामा ८ जनाले यात्रा गर्न मिल्छ । एक घण्टामा ५ सय जना यात्रुले यात्रा गर्न मिल्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु