फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल हुने महत्वकांक्षी बजेट ल्याउने सरकारको तयारी



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल हुने गरी ल्याउने तयारी गरेको छ । संसद बैठकमा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले महत्वकांक्षी बजेट ल्याउने संकेत गरेका हुन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार ल्याउने र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने जानकारी गराउँछु ।’

उनले मुलुकको अर्थतन्त्र र बजेट प्रणालीमा देखिएका विद्यमान समस्या तथा चुनौतीबारे पनि सदनलाई जानकारी गराएका छन् ।

विश्व आर्थिक परिदृश्यका साथै केही आन्तरिक कारणले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आउँदा अर्थतन्त्र दबाबमा रहेको उनले बताए ।

चालू आर्थिक वर्षमा उत्पादन, व्यापार र निर्माण क्षेत्रमा सुस्तता आएकाले आर्थिक वृद्धि न्यून हुने देखिएको उनको भनाइ छ ।

‘लक्ष्यअनुरुप राजस्व परिचालन हुन सकेको छैन । सार्वजनिक ऋणको दायित्व बढ्दै गएको छ । सरकारी खर्चको प्राथामिकीकरण हुन नसक्दा साधन स्रोत छरिने गरी विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृत्ति कायमै छु,’ अर्थमन्त्री महतले भने, ‘साधारण खर्चमा वृद्धि हुँदै गएको छ । आयोजना कार्यान्वयन कमजोर हुँदा पुँजीगत खर्च न्यून हुनुका साथै खर्चको प्रभावकारिता बढ्न सकेको छैन फलस्वरूप सरकारको वित्त सन्तुलनमा चाप परेको छ ।’

विनियोजन विधेयक २०८० का सिद्धान्त तथा प्राथमिकता


क्लिकमान्डु