मंगलबारदेखि एकीकृत कारोबार गर्दै युनियन, गुराँस र प्राइम लाइफ



काठमाडौं । मर्जर प्रक्रियामा रहेका जीवन बिमा कम्पनीहरु यूनियन, गुराँस र प्राइम लाइफले एकीकृत कारोबारको मिति तय गरेका छन् । कम्पनीहरुले वैशाख २६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

कम्पनीहरुले ‘हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।

प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जर जाने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरमा जान लागेको प्राइम लाइफको दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब ८ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड चुक्ता पुँजी छ । यी कम्पनीहरु एक बराबर एक अनुपातमा मर्जर हुन लागेका हुन् ।

एकीकृत कारोबारपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ७ अर्ब ५३ करोड नाघ्नेछ । कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल र सिइओमा हालका युनियनका सीइओ मनोजलाल कर्ण हुनेछन् ।

नेपाल बीमा प्राधिकरणले यी तीन वटै कम्पनीहरुलाई वैशाख १३ गते एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको थियो ।

कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते तीन वटै कम्पनीहरुलाई एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको थियो । यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयबाट वैशाख २० गते मर्जरमा जाने अन्तिम स्वीकृत पाएका थिए ।

एकीकृत कारोबार शुरु गरिने हुँदा डाटा माइग्रेसनका लागि तीन दिन सेवा बन्द हुने कम्पनीहरुले जनाएका छन् । कम्पनीहरुका अनुसार वैशाख २३, २४ र २५ गते तीन दिनका लागि सेवा बन्द हुने छ ।


क्लिकमान्डु