पटकपटक मन्त्री भइसकेकालाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यपूर्णः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा निर्दोष पर्न नहुने र दोषी उम्कन नहुने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न सिंहदरबार पुगेका ओलीले आफ्ना पार्टीका सचिव टोपबहादुर रायमाझीलाई प्रकरणमा तानिएको हो कि तनाएको हो भन्ने विषयमा आफूहरुले अध्ययन गरिरहेको बताए ।

‘तानिएको हो कि तनाएको हो भन्ने विषयमा हामी अध्ययन गर्दै छौं,’ ओलीले भने, ‘यसको छानबिनमा हामी सहयोग गर्छौं ।’
ओलीले यसमा निर्दोष पर्न नहुने र दोषी उम्कन नहुने बताए ।

‘निर्दोष पर्न हुँदैन, दोषी उम्कनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोषलाई फसाउन खोजियो भने हामी सहदैनौं’ ओलीले भने ।

तर, पटकपटक सांसद र मन्त्री भइसकेका नेतालाई षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दा हिँड्दै समाउनु पर्ने विषय भने रहस्यपूर्ण भएको ओलीको भनाइ छ ।

‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दा हिँड्दै समाउनु पर्ने रहस्यपूर्ण छ । भागेर जाने खालको कुरा होइन बाहालवाला एमपी’ ओलीले भने ।

आफूले हिजो बेलुका रायमाझीसँग कुरा गरेको ओलीले बताए ।

‘मैले बेलुका कुरा गरेको थिएँ । तपाईंलाई पक्राउ पूर्जीको कुरा सुन्छु के हो भनेर सोधेको थिएँ । उहाँले आईजीपीलाई सोधें यस्तो होइन यसो कुरा के भएको भनेर स्पष्ट पारिदिनु पर्ला एकपटक भन्नु भएको छ । म काठमाडौं आउँछु भनेर भन्नु भएको थियो । खै अहिले समात्यो भन्या पनि सुन्छु, फरार भन्या पनि सुन्छु ।’

यसबारे आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।

भुटानी शरणार्थीको तेस्रो देश व्यवस्थापनका लागि अमेरिकी सरकारसँग कुरा गर्ने आफू भएको ओलीको भनाइ छ ।

शरणार्थीको व्यवस्थापन तीन खालले गर्नेबारे कुराकानी भएको उनको भनाइ छ । पहिला शरणार्थीलाई भुटाननै पठाउने, दोस्रो तेस्रो देशमा व्यवस्थापन गर्ने र तेस्रो बाँकी रहेका लाई नेपालमा व्यवस्थापन गर्ने कुरा भएको उनको भनाइ छ ।

आफू प्रधानमन्त्री भएको बेला नक्कली शरणार्थी खडा गर्ने प्रयास हुँदैछ भन्ने सुनेपछि त्यसबारे गृहमन्त्रीलाई बोलाएर यसबारे जाँच गर्न र त्यसलाई रोक्न आफूले निर्देशन दिएको उनले बताए ।

‘नक्कली शरणार्थीलाई खडा गर्ने कोसिस हुँदैछ भनेर सुनेपछि मैले गृहमन्त्रीलाई बोलाएर रोक्न भनेको थिएँ,’ ओलीले भने,’अनुसन्धान विभागलाई पनि मैले बोलाएर राम्ररी खोज अनुसन्धान गर्न भनेको थिएँ । त्यसपछि हामी सरकारबाट हट्यौं ।’


क्लिकमान्डु